समाज

मनाङबासीको पीडाः खोला किनार बाहेक अन्यत्र बस्ने ठाउँ छैन

९० प्रतिशत घर खोला किनारमै

मनाङमा मस्र्याङदी नदी किनारमा रहेका घर । बाढीले यो पटक मस्र्याङदी आसपासका घरमा क्षति भएको छ । तस्बिरः नागरिक

हिमाली जिल्ला मनाङले यो मनसुनको सुरुवातमै प्राकृतिक प्रकोपको ठुलै झड्का बेहोर्नुप¥यो । अहिलेसम्म कहिल्यै नदेखेको र कसैले नभोगेको विपद् यो जिल्लाले यसपटक बेहोरेको छ । मनाङका लागि यो नै अहिलेसम्मको सबैभन्दा ठुलो प्राकृतिक विपद् भएको स्थानीयले बताएका छन् ।

आखिर मनाङले यतिसारो क्षति योपटक किन बेहोर्नुप¥यो त ? चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले भन्छन्, ‘खोलाकिनार बाहेक अन्यत्र यहाँ बस्ती छैन । लगातारको भारी वर्षापछि खोलामा बाढी आयो र आसपासका बस्तीमा क्षति पु¥यायो । यदी खोला किनारमा बस्ती हुँदैनथ्यो भने अहिलेको भौतिक क्षति कम हुन्थ्यो ।’ उनका अनुसार जिल्लाभरका अधिकांश बस्ती मस्र्याङदी किनार आसपास मात्र छन । अन्यत्र अग्ला डाँडाकाँडा भएकोले बस्ती बस्न मिल्दैन । त्यसैले पनि खोला किनारमा बस्नु यहाँका बासिन्दाको बाध्यता रहेको घलेको भनाई छ ।  

‘कि त जिल्लाको घरखेत नै छाडेर जानुप¥यो, नत्र खोला किनारमा घर बनाउनुको विकल्प छैन । खोलाकिनार बाहेक अन्यत्रको सबैजसो क्षेत्र अग्ला डाँडाकाँडा छन । ती डाँडाकाँडामा सबैठाउँ बस्ती बस्न मिल्दैन,’ उनले भने, ‘हिउँ पर्ने भएकोले पनि डाँडाकाँडमा बस्ती सम्भव छैन ।’ उनका अनुसार मस्र्याङ नदीले अहिलेसम्म हिउँद, वर्षा कहिल्यै यो आकार लिएको थिएन । योपटक मात्र सबैलाई त्रसित गराउनेगरि वहाव बढ्यो र दायाँबायाँका क्षेत्रमा क्षति पु¥याएको उनले बताए ।  

‘मस्र्याङदी किनारमा बसेर पुस्तौ बितिसकेको छ । नयाँ बस्ती पनि होईन, अहिलेसम्म यस्तो क्षति भोग्नु नपर्दा यहाँका बासिन्दा ढुक्कले निदाउन पाएका थिए,’ घलेले भने, ‘तर, अब भने ढुक्कको निद्रा यहाँका बासिन्दालाई लाग्ने छैन । कुनैपनि बेला जे पनि हुनसक्छ ।’ खोला किनारको बस्तीलाई तत्कालै अन्यत्र समथर र सुरक्षित ठाउँ खोजेर स्थानान्तरण गर्ने अवस्था पनि छैन । किनभने बस्ती बसेको ठाउँबाहेक अन्यत्र सबैतिर अग्लो भीरपाखो मात्र छ । 

‘हामीसँग भएजतिको समथर ठाउँ भनेकै मस्र्याङदी किनार हो । अहिलेको अवस्था हेर्ने हो भने त जिल्लाकै मान्छेलाई अन्यत्र लैजानुको विकल्प छैन,’ उनले भने, ‘खोला किनारमा बस्नु नपरेको भए यो क्षति भोग्नुपर्दैनथ्यो । यो पटक बढी क्षति पु¥याएकोले मान्छे त्रसित बनेका हुन, नत्र त यस्तो कहिल्यै भोग्नुनपर्दा यहाँका बासिन्दाको बसाई ढुक्कको थियो ।’ यस्तो घटना यसअघि कहिल्यै नभएकोले पनि कसैले वास्ता नगरेको उनले बताए । बाढीले मात्र मस्र्याङदी खोला किनारका करिब ६० घर बगाएको छ । 

 मनाङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रमा पर्छ । एक्याप मनाङका संरक्षण अधिकृत लेखनाथ गौतमका अनुसार मनाङका ९० प्रतिशत घर मस्र्याङदी किनारमा छन । मनाङमा १४५० हाराहारीमा घरधुरी रहेका छन । अन्यत्र अग्ला भीरपाखा भएकोले पनि समथर ठाउँको खोजीमा पुर्खाहरु नै खोला किनारमा बस्दै आएका थिए । अहिले पनि जहाँपायो त्यहाँ घर बनाएर बस्ने ठाउँ छैन । खोला किनारमा बस्दाको मार अहिलेको पुस्ताले खेप्नुपरेको उनले बताए ।  

उनका अनुसार मस्र्याङदी नदी वारीपारि नै मनाङका अधिकांश बस्ती बसेका छन । ती बस्तीमध्ये अधिकांश खोलाबाट ५० मिटर भित्रै छन् । निकै नै थोरै बस्ती मात्र खोला किनारबाट ५–६ सय मिटर टाढा छन, नत्र अधिक बस्ती खोला नजिक भएकोले पनि यो पटक बाढी आउँदा बढी नोक्सानी र कटानीमा परेको उनले बताए ।  

गौतमका अनुसार मस्र्याङदी नजिक भएर पनि मनाङगाउँ, ङावल र घ्यारु केही बढी दुरीमा छन । हत्तपत्ति ती बस्तीलाई खोलाको बाढीले असर पार्दैन । तर, पहिरोको जोखिममा भने सबै गाउँ छन । खोलाकिनारदेखि आधाकिलोमिटरको दुरीमा ती बस्ती छन । तर, पिसाङ, हुम्दे, भ्राका, चामे, कोतो, थानचोक, तिमाङ, दानाक्यू, बगरछाप, धारापानी, थोचे, तिल्चे, तालका सबै बस्ती खोलाबाट निकै नै नजिकका बस्ती हुन । ताचै केही उचाईमा र ओडारलाई केही बढी दूरीमा रहेपनि पूर्णरुपमा सुरक्षित भने नभएको गौतमले बताए ।  

‘खोला किनारसँग जोडिएर करिब ६० प्रतिशत बस्ती रहेको छ । ६० प्रतिशत बस्ती त ५० मिटर भन्दा कम दूरीमा छन,’ उनले भने, ‘हुन त सबैजसो बस्ती खोलाकिनारमै हुन । तर, चामे, ताल, धारापानी, थोचेका बस्ती त खोलासँगै जोडिएका छन । त्यसैले यो पटक सदरमुकाम नै जोखिममा परेको हो ।’  

‘बाढीको हिसाबले नदी कटाबाट केही सुरक्षित भएपनि अधिकांश गाउँ पहिरोको हिसाबले पनि सुरक्षित छैनन,’ गौतमले भने, ‘खोला किनारमा बस्नुको विकल्प नहुँदा पनि यो पटक बढी क्षति भोग्नुपरेको हो ।’ उच्च हिमाली भेग भएको र अन्यत्र बस्ती बस्ने ठाउँ नहुँदा पुर्खाैली बस्ती नै खोलकिनारमा बस्दै आएको उनले बताए । ‘पर्यटनको गतिविधि चल्न थालेपछि पदमार्ग र अहिलेको मोटरबाटो पनि खोला किनारबाटै गएको छ । बस्ती पछ्याउँदै मोटरबाटे खनिएको छ,’ उनले भने, ‘अन्यत्र बस्दा पनि श्रोतको अभाव छ । गाउँलेका लागि आवश्यक श्रोत नै तल्लो भेगमा मात्र उपलब्ध छ ।’ पैदल यात्रा पनि खोला वारीपारि गर्दै हिड्नुपर्ने भएकोले पनि बस्ती त्यही अनुसार विकसित हुँदै गएको उनले सुनाए । ‘अलिकति  समथर जग्गा जहाँ भेट्यो त्यही बस्ती बसेको ठाउँ हो,’ उनले भने ।  

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने पनि खोला किनारको बस्ती मनाङबासिका लागि बाध्यता रहेको बताउँछन । ‘यहाँ वर्षाैदेखि नै जोखिमयुक्त ठाउँमा नै बस्ती बसेको रहेछ । खोला किनारमै घर बनाएका छन्,उनीहरुको रहर नभई बाध्यता हो,’ लामिछानेले भने, ‘खोला किनारमा बस्नु जोखिमयुक्त ठाउँ हो भन्ने सबैलाई थाहा छ । तर, मान्छेले यस्तो खालको प्रकोप कहिल्यै नभोगेकोले पनि वेवास्ता गरिएको हो । बल्ल अहिले सबैका लागि सकसको विषय बनेको छ ।’  

सबैतिर समथर जग्गा नहुँदा गाउँलेहरु खोलाकिनारमा बस्ती बस्दै गएको र पछि पर्यटन फस्टाउँदै जाँदा पनि खोलाकिनारमै घर थपिएको उनको भनाई छ । अहिले खोलाले कटान गरेको अधिकांश भेग अन्नपूर्ण फेरोको पदमार्गको खण्ड पर्छ । पछिल्लो समय खनिएको मोटरबाटोले पनि अधिकांश ठाउँमा पदमार्ग नै पछ्याएको छ । 

प्रकाशित: ६ असार २०७८ १२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App