समाज

इलाममा असार ७ गतेसम्म निषेधाज्ञा

इलाममा आउँदो असार ७ सम्मलाई निषेधाज्ञा थपिएको छ। जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको सिफारिसमा सिडिओ ध्रुवबहादुर खड्काले सोमबार निषेधाज्ञा थपिएको आदेश जारी गरेका हुन्।जिल्लामा गत वैशाख २९ देखि निषेधाज्ञा जारी छ। 

सुरुमा जेठ १२ सम्म निषेधाज्ञा लागू गरिएकामा त्यसपछि जेठ २२ र जेठ ३१ सम्मलाई गरी २ पटक निषेधाज्ञा लम्ब्याइएको थियो। अहिलेसम्म निषेधाज्ञा प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको जनाउँदै जिल्ला प्रशासन कार्यालयले संक्रमितको संख्या २ सयभन्दा तल नझरेसम्म निषेधाज्ञालाई निरन्तरता दिने सम्भावना देखिएको छ।  

निषेधाज्ञा अवधिभर बाहिरबाट जिल्ला भित्रिने तथा जिल्लाभित्र चल्ने सबैखाले सार्वजनिक यात्रुबाहक तथा निजी सवारी साधन चल्न पाउने छैनन्। भिडभाड हुने सबैखाले हाटबजार, मेला, जात्रा, प्रतियोगिता, सभा–सम्मेलन, भेलालगायत बन्द गरिएको छ। सार्वजनिक निकाय, संस्थान, बैंक तथा वित्तीय संस्था, बिमा कार्यालयले प्रवाह गर्ने अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरिएको छ भने नित्यपूजाबाहेक धार्मिकस्थलमा गरिने सबै कार्यक्रम रोकिएका छन्।  

जिल्लामा मात्र होइन, सीमा जोडिएका पाँचथर र झापामा समेत कोरोना संक्रमितको संख्या बढिरहेका बेला निषेधाज्ञाको अवधि लम्ब्याउनुपरेको प्रशासनले जनाएको छ। जिल्लामा आइबार साँझसम्म सक्रिय संक्रमितको संख्या ७ सय ३९ छ। अहिलेसम्म १ हजार ४ सय ६९ जना कोरोना संक्रमित भएकामा ३४ जनाको निधन भएको छ। ६ सय ९६ जना उपचारपछि घर फर्केका छन्। होम आइसोलेसनमा ७ सय २०, सामान्य उपचारमा १५ र इन्टेन्सिभ केयर युनिट (आइसियु)मा ४ जना उपचाररत रहेको प्रशासनले जनाएको छ।

प्रकाशित: ३१ जेष्ठ २०७८ ०९:०५ सोमबार

इलाममा निषेधाज्ञा