समाज

सेती प्रादेशिक अस्पतालमा कालो ढुसीको संक्रमणले एकको मृत्यु

सेती प्रादेशिक अस्पतालमा कालो ढुसीको संक्रमणले एक जनाको ज्यान गएको छ । कालो ढुसीको संक्रमणले कैलाली बर्दगोरिया गाउँपालिका वडा नं ६ का ६५ वर्षीय पुरुषको बिहीबार बिहान ७ बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताएका छन् । 

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाका समस्या रहेका उनी जेठ १७ गते उपचारका लागि सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए । आईसियुमा राखेर उपचार भैरहेका उनको स्वाब जाँच गर्दा कोराेना रिपोर्ट नेगेटिभ आएको थियो । गलाको भित्रि भागमा कालो ढुसीको संक्रमण भएका उनलाई टाउको दुृख्ने, श्वास फेर्न गाह्रो हुने, बान्ता हुने, गालाको भाग सुन्निएको लक्षण देखिएकाे र पछि बेहोश भएको उपचारमा संलग्न चिकित्सक शेरबहादुर कमरले बताएका छन् । 

सेती प्रादेशिक अस्पतालमा उनको कालो ढुसीको संक्रमण भएको ठाउँबाट नमुना लिएर परीक्षण गर्दा कालो ढुसी संक्रमण भएको पुष्टी भएको कमरले बताए । प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा कालो ढुसीको संक्रमण हुने गरेको छ । मिर्गौलाको औषधिले पनि प्रतिरोधात्मक क्षमता कम गराउने उनी बताउँछन् । ‘एम्फोटेरिसन बी औषधिको प्रयोग गरेपनि उनलाई बचाउन सकिएन’, डा. कमरले भने ।

भारतमा कोभिड १९ प्रकोपपछि आँखा नै अन्धो बनाउने घातक कालो ढुसीको संक्रमण फैलिरहेको छ भने नेपालमा पनि काठमाडौ, बिरगंज र नेपालजंगमा कालो ढुसी संक्रमणका केस देखिएका छन् । कोभिड १९ को संक्रमणले प्रतिरोधात्मक क्षमता घटाउने र त्यसमाथि सिकिस्त संक्रमितलाई चलाइने स्टेरोईड औषधिले प्रतिरोधात्मक क्षमता अझ कम गर्ने भएकाले कोभिड महामारीका बेला यो कालो ढुसीको संक्रमण देखा परिरहेको विज्ञहरुले बताएका छन् । 

प्रकाशित: २० जेष्ठ २०७८ ०८:४७ बिहीबार

कैलाली