समाज

अहिलेको माग खोपको हो, भोटको होईनः पोखरेली

निर्वाचन घोषणा प्रति नागरिक असन्तुष्ट

कोरोना भाइरसको दोश्रो लहरको संक्रमणले मुलुक ग्रस्त छ । मुलुकभर दिनहुँ दुईसय हाराहारीमा नागरिकले कोरोनाबाटै ज्यान गुमाईरहेका छन् । गण्डकी प्रदेशमा मात्र पछिल्ला दिनमा २० जना हाराहारीमा नागरिकको कोरोनाबाटै ज्यान गईरहेको छ । कोरोनाले सबैतिर आक्रान्त बनाउँदै जाँदा अस्पतालमा उपचार पाउन कठिन छ ।  

अस्पतालमा शैया र अक्सिजन अभावमा स्वास्थ्य प्रणालि नै जटिल अवस्थामा पुगेको सर्वत्र गुनासो छ । कोरोना संक्रमण फैलिन नदिने भन्दै अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको छ । मुलुक नै लकडाउन भएसरह छ । गरिखाने वर्ग घरबाट बाहिर निस्कन पाएका छैनन् । धेरैको घरमा बिहान–बेलुकी चुलो बल्न मुस्किल हुन थालिसकेको छ ।  

कोरोना विरुद्ध सिंगो समुदाय, बस्ती, संघसंस्था लागिपरेका छन् । स्वदेशभित्रबाट मात्र नभई खाडीमा पुगेका नेपालीले समेत गच्छे अनुसार सहयोग गरेर नेपाली नागरिकको ज्यान बचाउने प्रयत्न गरिरहेका छन् । विभिन्न मुुलुकहरुले पनि स्वास्थ्य सामाग्री पठाएर नेपालीको पीडामा राहत थपिरहेका छन् । दिनहुँ आफन्त र चिनजानका साथीभाई गुमाउनुपरेको भन्दै सामाजिक सञ्जालमा पीडा पोख्ने गरेको सवत्र्र देखिन्छ ।  

कोरोनाको यो अवस्था जगजाहेर रहिरहँदा सरकार भने चुनाव घोषणा गरेको छ । तर, सर्वसाधारण नागरिक भने सरकारले अहिलेको महामारीलाई चटक्कै बिर्सेर चुनाव घोषणा गर्दा पटक्कै खुसी छैनन् । नागरिकको गुनासो छ त केवल यो बेला चुनाव भन्दा महामारीबाट जनता बचाउन सरकारले प्राथमिकता दिनुपर्ने भन्ने छ । सामाजिक सञ्जालभर सरकारको घोषणाको सर्वत्र विरोध पनि छ ।  सरकारले महामारीलाई बिर्सेर चुनाव घोषणा गर्दा नागरिकमाथिको अन्याय भएको पोखरेलीको गुनासो छ ।

 नागरिक समाजको क्षेत्रमा कार्यरत राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका कास्की अध्यक्ष विष्णुहरी अधिकारी भन्छन्, ‘यो बेला कोरोना महामारीविरुद्ध लड्का लागि योजना बनाउनमा सरकारको प्राथमिकता हुनुपर्ने हो । तर, यहाँ जनताप्रति वास्ता गरिएन ।’ कोरोनाको यो महामारीमा खोप किनेर ल्याएर जनतालाई लगाउनुपर्नेमा सत्ताका लागि मरिहत्ते गर्न प्रवृत्तिले सबैलाई चिन्तित बनाएको उनले बताए ।  

‘चुनावमा खर्च हुने रकमले खोप किनेर ल्याउने, अस्पतालमा भेन्टिलेटर थप्ने, अक्सिजन सिलिन्डर ल्याउने र प्लान्ट बिस्तार गर्नुपर्ने हो । तर, चुनाव घोषणा गरेर बेमौसमी बाजा बजाउने काम भएको छ,’ अधिकारीले भने, ‘एकातिर जनता रोगले मरेका छन, अर्काेतिर मुलुक नै ऋणमा डुब्ने अवस्था छ । मुलुकऋणमा डुब्नुको अर्थ आर्थिक भार जनतामाथि नै थोपरिनु हो । कोरोनाले काम नपाउँदा जनताको चुलो बल्न सकेको छैन ।’

यस्तो अवस्थामा पनि सहयोग नपाउँदा जनता वाक्क भईसकेको उनले बताए । कुनैपनि सरकार फेरिँदा जनतालाई खासै फरक नपर्ने उनले बताए । ‘साच्चै जनताको लागि काम गरेको भए सबैले सरकारको समर्थन गर्थे, तर, अहिले कोरोना परास्ततिर लाग्नुपर्नेमा चुनाव घोषणा गरेर जनताको स्वास्थ्यमाथी खेलवाड गरिएको छ,’ अधिकारीले भने, ‘अहिले अप्ठेरो परेको बेला जनतालाई सघाएको भए भोलि तिनै दलहरुप्रति जनताको सहानुभूति हुन्थ्यो, तर, दलहरुले त्यो सहानुभूति पनि गुमाएका छन् ।’

कोरोना महामारीमा सर्वसाधारणलाई भीडभाड नगर्न, मलामी र जन्त नजाउ भन्ने, तर, भोट दिन जाउ भन्दा नागरिकले पत्याउने अवस्था नरहने उनले बताए । ‘यो महामारी कहिलेसम्म रहिरहने भन्ने निश्चित छैन । तर, दलहरुमा जनता जोगाउने बारे चेत नै खुलेन । जनता नै नजोगिए कसका लागि चुनाव गर्ने भन्ने हो,’ उनले भने ।  

समाजशास्त्री दिनेश प्रसाइँ पनि प्रधानमन्त्रीले जानजानी असंवैधानिक काम गरेर महामारीलाई चटक्कै बिर्सेको बताउँछन् । सत्तामा आउनु जानु स्वभाविक प्रक्रिया भएपनि अहिलेको अवस्थामा निर्वाचनमा जानु आफैमा गलत रहेको उनले बताए । ‘कोरोनाको दोश्रो महामारीमा हामी छौ । अझ तेश्रो लहर आउने भनेर विज्ञले भनिरहेका छन् । यो बेला अरु सबै कुरा बिर्सेर स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउनतिर ध्यान दिनुपर्ने हो,’ प्रसाइँले भने, ‘अहिले खोप किन्ने, अस्पतालमा शैया थप्ने, औषधि किन्ने, खोप भिœयाउने, अक्सिजजनको सिलिन्डर र प्लान्टको जोहो गर्ने बेला हो, चुनावमा जाने बेला भएको छैन ।’  

अहिले मुलुकलाई चुनाव नभई खोप तत्काल चाहिएको उनले बताई । ‘धेरैजसो मुलुक अहिले खोपमा भुलेका छन । खोप नलगाएसम्म मान्छेको रोजीरोटी चल्ने अवस्था देखिएन । सबैतिर लकडाउन हुँदा मान्छे घरबाहिर निस्कन पाएका छैनन,’ उनले भने, ‘तर हामीकहाँ खोप होइन, भोट चाहिएको छ ।’ आवधिक निर्वाचनको बेला हुन्थ्यो भने स्वास्थ्यका मापदण्ड अपनाएर गर्न सकिने भएपनि अहिले अरु विकल्प हुँदाहुँदै चुनाव जरुरी नभएको उनले बताए ।  

‘यो बेला चुनाव गर्छु् भन्नु नै अनैतिक काम हो । मान्छेको ज्यान जोखिममा रहेको छ । जनता, व्यवसायी कसरी बाँचेका छन् भन्नेमा खोजी गर्नुपर्ने बेला हो,’ उनले भने, ‘अर्बाै रुपैयाँ चुनावमा खर्च हुन्छ । तर, यो बेला चुनावमा अर्बाै रुपैयाँ फजुल खर्च नगरि खोप किन्न, व्यवसायी र जनतालाई राहत दिन सकिन्थ्यो । त्यतातिर ध्यान दिइएन ।’ बेला न कुबेलाको निर्वाचनले अर्थ नराख्ने उनले बताए ।

व्यवसायी पनि अहिलेको अप्ठेरोमा चुनाव घोषणा गर्दा जनताप्रति अन्याय भएको बताउँछन् । पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेल भन्छन,् ‘हामीलाई यो बेला बाच्नु छ । खोप चाहिएको छ । भोट दिन जरुरी छैन । अहिलेको समय खोपको हो, भोटको होईन ।’ कोरोनाको त्रासबाट लामो समयदेखि बाँचिरहेका जनतालाई अहिलेको त्रासबाट मुक्त गर्न खोप आवश्यक भएपनि सरकार त्यसमा चुकेको उनले बताए ।  

‘दलबीचको आन्तरिक द्वन्द्वको मारमा जनता परेका छन । प्रधानमन्त्रीकै दलको कारण जनताले दुख पाउनु हुँदैन,’ उनले भने, ‘अरु सबै काम छाडेर अहिले खोप र औषधि उपचारमा लागौ ।’ सरकारले आर्थिक अवस्था कमजोर हुने जनताका लागि रकम खर्चेर खोप ल्याउने हो भने निजीक्षेत्र आफैले रकम खर्चेर परिवारका लागि खोप ल्याउन तयार रहेको पोखरेलले बताए ।  ‘चुनाव घोषणाप्रति निजी क्षेत्रले घोर र्भत्सना गरेको छ । अहिलेका जस्ता राजनीतिक घटनाक्रम यसअघि पनि भएका हुन्,’ उनले भने, ‘तर, अहिले जनता बचाउने बेला हो । चुनाव गरेर सत्ता बचाउने बेला होईन ।’ सबै दलहरु मिलेर खोपका लागि पहल जरुरी रहेको उनले बताए ।

प्रकाशित: ८ जेष्ठ २०७८ १०:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App