समाज

इलाममा १० दिन निषेधाज्ञा लम्ब्याइँदै

इलाममा आउँदो १२ गतेदेखि कम्तीमा १० दिन निषेधाज्ञा लम्ब्याइने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले संक्रमण नियन्त्रणमा नआउञ्जेल यसको फैलावट रोक्न जिल्लाभर निषेधाज्ञाको अवधि थप्न सिफारिस गर्ने निर्णय गरेको हो ।  

जिल्लामा गत वैशाख २९ देखि जेठ १२ सम्म निषेधाज्ञा जारी छ । अहिलेसम्म निषेधाज्ञा प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको जनाउँदै केन्द्रले जिल्लामा संक्रमितको संख्या २ सयभन्दा तल नझरेसम्म निषेधाज्ञालाई निरन्तरता दिने भएको हो । अहिलेसम्म जिल्लामा ४ सय १९ जना दोस्रो लहरको कोभिड–१९ बाट संक्रमित भएकामा सक्रिय संक्रमितको संख्या ३ सय ६० छ । १४ जनाको निधन भएको छ । ४५ जना निको भएका छन् ।  

सहायक सिडिओ झरेन्द्रप्रसाद चापागाईंले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका नाममा आफूखुसी रकम जम्मा गर्ने कार्यसमेत निरुत्साहित गर्न सबैलाई जानकारी गराएको बताए । कसैले स्वैच्छिक रूपमा रकम जम्मा गर्न चाहे सरकारले तोकेको खातामा जम्मा गर्न अनुरोध गरिएको छ ।

केन्द्रका अनुसार अहिलेसम्म जिल्लामा कोभिड–१९ को उपचारका लागि १ सय ८४ अक्सिजन सिलिन्डर तयारी अवस्थामा छन् । इलाम अस्पतालमा २ हाई डिपेन्डेन्सी युनिट (एचडियु)सहित ४५, चुलाचुलीमा १५, सूर्याेदय र सन्दकपुरमा १०/१० तथा अन्य स्थानीय तहसमेतमा गरी १ सय १० शड्ढयाको आइसोलेसन छ । तर, अहिले इन्टेन्सिभ केयर युनिट (आइसियु)मा ७, सामान्य उपचारमा २८ र होम आइसोलेसनमा जिल्लाका ३ सय २५ संक्रमित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  

केन्द्रले कोभिड–१९ नियन्त्रणको अग्रपंक्तिमा रहेर काम गर्नेमध्ये गत फागुन २३ अघि पहिलो चरणको खोप लगाइसकेका तर दोस्रो मात्रा छुट भएका व्यक्तिका लागि खोप सेवा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । जिल्लामा ३ हजार ५ सय २५ जनाले पहिलो चरणको खोप लगाइसकेका छन् ।  

जिल्लाको भारतीय सीमा पशुपतिनगरमा हेल्प डेस्क राखी आउ–जाउको अभिलेख राखेर संक्रमण नियन्त्रणमा प्रयास गरेको, झापासँगको सीमा जोरकलशमा सुरक्षा प्रबन्ध सुदृढ गरी हेल्प डेस्कको सेवा दिएको, इलाम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न १ नम्बर प्रदेश सरकारलाई अनुरोध गरिएको उनले बताए । भिडभाड हुनेखालका कार्यक्रम नगर्न/नगराउन, यातायात, सार्वजनिक निकाय, व्यापार–व्यवसाय, होटल–रेस्टुरेन्टले कोभिड–१९ नियन्त्रणका लागि अपनाउनुपर्ने मापदण्ड र पालना गर्नुपर्ने सर्तबारे प्रशासनले यसअघि नै सूचना जारी गरिसकेको छ ।

प्रकाशित: ७ जेष्ठ २०७८ ११:४२ शुक्रबार

निषेधाज्ञा