समाज

अस्पताल कोरोना संक्रमितले भरिएपछि अन्य बिरामीलाई उपचारमा सास्ती

उपचारका लागि निजी क्लिनिकमा आएका बिरामी । तस्बिरः योगेश रावल

टीकापुर नगरपालिका–१ की ललिता जैशी गर्भवती थिइन् । स्वास्थ्यकर्मीले उनलाई सुत्केरी हुने मिति जेठ ७ गते दिएका थिए । तर उनलाई वैशाख २२ गते नै ब्यथा लाग्यो । उनका आफन्तले निजी क्लिनिकमा लगे । स्वास्थ्यकर्मीले भिडियो एक्सरे गरे ।  

बच्चाको तौल कम भएको र एनआईसियुमा राख्नुपर्ने सुझाव दिएपछि उनलाई आफन्तले एम्बुलेन्समा नेपालगञ्ज नर्सिङ होम पुर्‍याए । शुरुमा अस्पतालका स्वास्थ्यकर्मीले हेर्दै हेरेनन् । उनका आफन्तले निकै आग्रह गरेपछि चेकजाँच गरेर नर्सिङ होमले सुत्केरी व्यथा नलागेको भन्दै घर पठायो ।  

उनलाई वैशाख २३ गते फेरी बिहानै सुत्केरी ब्यथा लाग्यो । आत्तिँदै उनका आफन्तले टीकापुर अस्पताल पुर्‍याए । अस्पतालले ब्यथाले च्यापिसकेको भन्दै उनको अप्रेसन गरेर बच्चा जन्मायो । अहिले नवजात शिशु र आमा स्वस्थ्य छन् । उनका श्रीमान बासुदेव अधिकारीले अस्पतालले कोरोना बाहेकका बिरामीलाई गर्ने व्यवहार राम्रो नभएको बताए ।

टीकापुर नगरपालिका–१ कै ६७ वर्षीया धना धमालाको अचानक दिसापिसाब रोकियो । उनका आफन्तले उपचारका लागि टीकापुर अस्पताल लैजान खोजे । तर अस्पतालमा बिरामीको अत्याधिक चाप थियो । आफन्तले धनगढी र नेपालगञ्जका सबै अस्पतालहरुमा बुझ्दा पनि बेड पाउन सकेनन् । अन्ततः आफन्तले घरमै स्वास्थ्यकर्मीको सहयोगमा औषधी शुरु गरे ।

‘आमालाई दिसापिसाब खुलेको छैन, बाहिर लैजाने तयारी गरेको हो, कुनै अस्पतालमा ठाउँ छैन मात्रै भन्छन’, छोरा नवीन धमालाले भने, ‘अस्पताल कोरोनाका बिरामीले भरिएपछि अन्य बिरामीलाई उपचार नै नहुने कुरा ठिक भएन ।’

कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै अस्पतालहरुमा संक्रमित तथा कोरोनाको लक्षण भएका बिरामी बढेपछि अन्य स्वास्थ्य समस्या भएका बिरामीहरु उपचारबाट वञ्चित हुन थालेका छन् ।  

टीकापुर अस्पतालले इमरजेन्सी बाहेकका सेवा बन्द गरेको छ । जसका कारण कैलालीको पूर्वी भेगका टीकापुर, भजनी, लम्कीचुहा नगरपालिका र जानकी, जोशीपुर, बर्दगोरिया र मोहन्याल गाउँपालिकाका बासिन्दा समस्यामा परेका छन् ।  

टीकापुर अस्पतालमा यसअघि दैनिक ५ शय बढी बिरामीहरु चेकजाँचका लागि आउने गरेका थिए । अस्पतालले अन्य बिरामीको चेकजाँच गर्न छोडेपछि स्थानीय क्लिनिकहरुमा बिरामीको भिड लाग्न थालेको छ ।  

टीकापुर अस्पतालका मेसु डा. रेमकुमार राईले कोरोना संक्रमण फैलिएपछि बिरामी आउने क्रम रोकिएको बताए । ‘कोरोना संक्रमितको उपचारका लागि खट्नु पर्ने भएकाले कम जनशक्ति र शैयाका हिसाबले अन्य सेवा बन्द गर्नु परेको हो’, उनले भने, ‘हामी सबैको उपचार गरिरहेका छौं, संक्रमणको डरले सकेसम्म नआउनुस् भन्ने हो तर विरामी आएपछि उपचार त गर्नै पर्‍यो ।’  

डाक्टर राईका अनुसार टीकापुर अस्पतालमा इमरजेन्सीसहित खोप सेवा, एचआईभी संक्रमितहरुका लागि एआरटी सेवा, प्रसूति सेवा सञ्चालनमा रहेको छ । उनले अस्पतालमा आउने विरामीहरु कोरोनाको शंकास्पद लक्षण भएका हुनाले उनीहरुलाई ओपीडीमा बेडको व्यवस्था गरेर उपचार गरिरहेको जानकारी दिए ।  

उनले विरामीको समस्यालाई ध्यानमा राख्दै अस्पतालका चिकित्सकहरुको टेलिफोन नम्बर सार्वजनिक गरिएको र अत्यावश्यक परे इमरजेन्सीमै भए पनि उपचार गर्दै आइरहेको बताए ।

प्रकाशित: २७ वैशाख २०७८ १३:५७ सोमबार

अस्पताल कोरोना संक्रमित