समाज

उद्योग बाणिज्य संघको पहलमा ५० सिलिण्डर अक्सिजन

जिल्लामा कोरोना संक्रमितहरुको उपचारमा सहजता ल्याउन दाङ जिल्ला उद्योग बाणिज्य संघ अक्सिजनको जोहोमा लागेको छ । केही दिनयता निरन्तर अक्सिजन संकलन अभियानमा रहेको उद्योग बाणिज्य संघले चितवनबाट ५० सिलिण्डर अक्सिजन दाङ ल्याएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा चितवनबाट ५० सिलिण्डर अक्सिजन दाङ ल्याइएको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए ।

‘अक्सिजनको अभावमा बिरामीहरुको ज्यान जान थालेपछि अक्सिजनको ब्यवस्थापनका लागि हामीहरुले पहल थाल्यौँ,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालयको समन्वयमा पहिलो चरणमा ५० सिलिण्डर अक्सिजन चितवनबाट दाङ ल्याउन सफल भयौँ ।’ जिल्ला ल्याइएको अक्सिजन जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको छ । यो अक्सिजन प्रहरीमार्फत् अस्पतालहरुमा वितरण हुने छ ।

जिल्ला उद्योग बाणिज्य संघको तर्फबाट यो अभियानको अगुवाई युवा ब्यवसायी सुरज बुढाथोकीले गरेका थिए । अक्सिजनका लागि एक हजार अभियानको सुरुवात गरेका बुढाथोकीले थालेको अभियानबाट उद्योग बाणिज्य संघले अक्सिजन जिल्ला झारेको हो ।

‘अक्सिजनको अभावमा बिरामीहरु मर्नु पर्ने भयावह स्थिति आउन थालेपछि मैले अक्सिजनका लागि एक हजार अभियानको सुरुवात गरेँ,’ बुढाथोकीले भने, ‘फलतः पहिलो चरणमा ५० सिलिण्डर अक्सिजन दाङ ल्याउन सकियो ।’ दाङ जिल्ला उद्योग बाणिज्य संघले थप अक्सिजन ल्याउनका लागि चितवन अर्को गाडी पठाइसकेको छ । संघका अध्यक्ष टंकसिंहले भने, ‘तत्कालै थप अक्सिजन जिल्लामा आयात हुँदैछ, गाडी पठाइसकेका छौँ ।’

प्रकाशित: २७ वैशाख २०७८ ०८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App