समाज

राजश्व छलीका सूर्तिजन्य पदार्थलाई १४ लाख धरौटी

सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको सूर्तिजन्य पदार्थ बोकेको गाडी । तस्बिर : नागरिक

आन्तरिक राजश्व कार्यालय सुर्खेतले गोर्खा टोवाद्वारा उत्पादित सूर्तिजन्य पदार्थ राजश्व छली गरि बिक्रीवितरण गरेको भन्दै १४ लाख धरौटी माग गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले राजश्व छलीका सूर्तिजन्य पदार्थ नियन्त्रणमा लिई आन्तरिक राजश्व कार्यालयमा बुझाएपछि अहिले गोर्खा टोवाबाट १४ लाख धरौटी माग भएको हो।

विगो अनुसार १४ लाख धरौटी तोकिएको आन्तरिक राजश्व कार्यालयका प्रमुख राम मैनालीले बताए। ‘मुद्दा नटुंगिएको तर, विगो अनुसार धरौटी तोकिएको हो।’ प्रमुख मैनालीले भने, 'धरौटी रकम लिएसंगै राजश्व छली अभियोगमा मुद्दा अगाडी बढ्छ।'

कर्णाली प्रदेश ०२–००१क०१२१ नम्वरको ट्रकमा राजश्व छली गरि बिक्रीका लागि लगिएको सूर्ति प्रहरीले बरामद गरेको थियो। राजश्व छलीका सूर्तिजन्य पदार्थ नियन्त्रणमा लिई आफूहरुले आन्तरिक राजश्व कार्यालयमा बुझाएको सुर्खेतका प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टले बताए। अन्य खाद्य सामग्रीसंगै २५ बोरा राजश्व छलीका सूर्तिजन्य पदार्थ प्रहरीले बरामद गरि राजश्व कार्यालयमा बुझाएको थियो।  

सुर्खेतस्थित मार्सल जनरल स्टोस र श्री माता सप्लायर्सबाट सूर्तिजन्य पदार्थ बिक्रीका लागि लगिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो। वयलकम र गोल्डेन लिप्स सूर्ति बजारमा राजश्व छलेर बिक्री गरेको पाइएको छ।

श्रोतका अनुसार लकडाउन मौका छोपेर कम्पनीले राजश्व छली गरि सुर्खेत, दैलेख, जाजरकोट लगायतका जिल्लाका विभिन्न बजारहरुमा गोदाम बनाएर ठूलो परिणममा कर छलीका सूर्तिजन्य पदार्थ राखीएको जनाइएको छ। बजारमा सूर्ति अभाव देखाएर प्रति गोटा ५० देखि ८० रुपैयाँसम्म सूर्तिको मूल्य ब्यापारीहरुले असुल्ने गरेको छन्।

९ वर्षदेखि कम्पनीले सूर्तिजन्य पदार्थ उत्पादन गर्दै आईरहेको छ। यसअघि बाँकेको कोहलपुरमा पनि राजश्व छर्लेर बजारमा बिक्री गर्न लागिएको सूर्तिजन्य पदार्थसहित पक्राउ गरि मुद्दा चलाइएको थियो। गोर्खा टोलाले सुर्खेत लगायत पहाडी जिल्लामा राजश्व छलीका सूर्तिजन्य पदार्थबाट शिवशिखर एग्रो कम्पनीबाट उत्पादित उपकार बाण्डका खाद्य बस्तुसँगै लुकिछिपी बिक्री गरेको पाइएको छ। प्रत्येक जिल्लामा आफ्ना कर्मचारी र एजेन्ट मार्फत करोडौका अवैध सूर्तिजन्य प्रदाथ बिक्री गर्दै आएको ब्यापारीहरु बताउँछन्।

प्रकाशित: २१ वैशाख २०७८ ०९:०२ मंगलबार

राजश्व छलीका सूर्तिजन्य पदार्थ