समाज

कोरोना संक्रमण नियन्त्रणका लागि भक्तपुरका स्थानीय तह के गर्दै ?

भक्तपुरमा गएको तीन दिन( शनिबार, आइतबार र सोमबार) यता मात्र  ७ सय १४ नयाँ कोरोना संक्रमित थपिए। थपिएकामध्ये सूर्यविनायक नगरपालिका १९८, मध्यपुरथिमि नगरपालिकामा २सय८२, भक्तपुर नगरपालिकामा १ सय २५  र चाँगुनारायण नगरपालिकामा ७४ जना र सम्पर्कमा नरहेका ३५ जना थिए।

संक्रमतिको संख्याका दृष्टिले नयाँ भेरियन्टको कोरोनाको ‘हटस्पट’ बनिरहेको मध्यपुरथिमि नगरपालिकामा तीनदिन यता १४१ पुरुष र १४१ महिला नयाँ संक्रमित थपिएका छन्।

संक्रमित थपिँदाको पीडा र चुनौति एकातिर छँदैछ, अर्कोतिर संक्रमितको मृत्यु अर्को पीडा र चुनौतिको विषय बनेको छ, मध्यपुरलाई। ‘ दुईदिन अघिमात्र एक युवाको निधन भएको छ, एकदम दुःख लागेको छ’, पहिला भन्दा कडा खालको भाइरस भएकाले अर्को चुनौति थपिएको मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । 

चुनौति थपिए पनि नगरपालिकाले कोरोना विरुद्धको लडाइँका लागि आफूलाई विभिन्न किसिमले तयार राखेको नगरप्रमुख मदनसुन्दर बताउँछन्। ‘यहाँ दिनानुदिन संक्रमित बढिरहेका छन्, तर हामी कोभिडसँग लड्नका लागि पूरा तयारीका साथ लागिरहेका छौं,’ उनले भने।

उनले नयाँ भेरियन्टको कोभिड १९ सँग लड्नका लागि नगरपालिकाले पनि नयाँ तरिकाले काम गरेको बताए। ‘नगरपालिकाले पीसीआर ल्याब सञ्चालनलाई निरन्तरता दिइनै रहेका छौं,  हामीले ७ भेन्टिलेटरसहित ९ शय्याको आईसीयू, १४ शय्याको हाई डिपेन्डेन्सी युनिट (एचडीयू), अक्सिजन प्लान्ट, बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा ७० शय्याको आइसोलेसन सुचारु गरिसकेका छौं।’ गत वर्षको कोरोना संक्रमणबाट नगरपालिकाले पाठ सिकेको बताउँदै उनले भने।

सोही कारण उनले नयाँ भेरियन्टको कोरोनाको प्रकृतिलाई बुझेर एचडीयूसहितको आइसोलेसन शय्याको बन्दोबस्त गरेको बताए।

मध्यपुरथिमि नगरपालिकाले मात्र हैन, शनिबारसम्म संक्रमित संख्या एक हजार ६ सय १ पुगेपछि यहाँका चारवटै नगरपालिकाले कोरोना नियन्त्रणका लागि आआफ्नै तरिकाको योजना बनाएर काम सुरु गरेका छन् ।

नयाँ प्रकृतिको कोरोनासँग लड्नका लागि भक्तपुर नगरपालिकाले आइसोलेसन बनाउनेदेखि लिएर एचडियूसम्म सञ्चालन गरिसकेको छ। नगर प्रमुख सुनिल प्रजापतिले सामान्य संक्रमितहरूका लागि ५० शय्याको आइसोलेसन केन्द्र र जटिल बिरामीहरूको उपचारका लागि २५ शय्याको एचडीयू सञ्चालनमा ल्याएको बताए।

चाँगुनारायण नगरपालिकाले नेपाल इन्जिनियरिङ कलेज, दुवाकोटमा निर्माण गरेको आइसोलेसन केन्द्र।

यता चाँगुनारायण नगरपालिकाले पनि कोरोनाविरुद्ध लड्नका लागि हरेक प्रकार आफूलाई तयारी अवस्थामा राखेको छ। नगर प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले वडा नं. १ स्थित नेपाल इन्जिनियरिङ कलेज दुवाकोटमा १ सय शय्याको आइसोलेसन केन्द्र व्यवस्थापन गरिसकेको जानकारी दिँदै चाँगुनारायण अस्पताललाई ‘कोभिड अस्पताल’ का रूपमा सञ्चालन गर्ने तयारी भइरहेको बताए।

यतिमात्र नभएर नगरपालिकाले संक्रमितहरुको आत्मबल बढाउनका लागि प्रत्येक दिन फोनमार्फत् सम्पर्क गरी स्वास्थ्य अवस्था र संक्रमितको आवश्यकताबारे बुझिरहेको बताए। ‘हामी प्रत्येक दिन बिरामीलाई फोन गरी अवस्था बुझिरहेका छौं, त्यसले बिरामीको मनोबल बढेको छ, अहिलेको सबैभन्दा राम्रो ओखती नै मनोबल बढाउनु भएकोले यसलाई हामीले निरन्तरता दिएका छौं’,उनले भने ।

नगरपालिकाले हालको १७ शय्याको चाँगुनारायण अस्पताललाई ३० शय्यासम्म वृद्धि गर्ने र नगरपालिकाले कोभिड विशेष शव वाहन, एम्बुलेन्स सञ्चालनलाई निरन्तरतासमेत दिइरहेको नगर प्रमुख मिश्रको भनाइ छ।

यसैगरी सूर्यविनायक नगरपालिकाले कोरोना संक्रमण नियन्त्रण गर्न तथा न्यूनीकरणका लागि टोलटोलमा माइकिङदेखि लिएर दधिकोटमा १५ शय्याको अस्पतालमार्फत् २४ सै घन्टा सेवा दिइरहेको नगरपालिकाकी उपप्रमुख जुना बस्नतेले बताइन्।

जेठको दोस्रो हप्ताभित्रमा जगातिमा१० बेड भेन्टिलेटर सहितको ५० शय्याको अस्पताल उद्घाटन गर्ने तयारीमा नगरपालिका जुटेको बताउँदै उनले गत वर्षमा जस्तै यो वर्ष पनि टोलटोलमा गएर स्वाब परीक्षण गरी नगरवासीको स्वास्थ्यबारे ख्याल गर्ने बताइन् । उनले वडागत रुपमा रहेका हेल्थपोष्टहरुलाई पनि सक्षम बनाउनका लागि नगरपालिकाले आवश्यक सहयोग र समन्वय गरिरहेको बताइन्।

प्रकाशित: २१ वैशाख २०७८ ०७:४६ मंगलबार

कोरोना ‘हटस्पट’ नयाँ भेरियन्टको कोरोना भाइरस