समाज

कोभिड नियन्त्रणका लागि सिसिएमसीको १४ निर्णय

फाइल तस्बिर

कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)ले नयाँ भेरियन्टको कोराेना महामारी नियन्त्रण गर्नका लागि १४ वटा निर्णय गरेको छ।

केन्द्रको बैठकले जारी निषेधाज्ञालाई अझ व्यवस्थित गर्नदेखि लिएर स्थानीय तहसम्मलाई जिम्मेवार बनाउने निर्णय गरेको केन्द्रले जनाएको छ।

केन्द्रले आवागमन व्यवस्थापनबारे, उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक निर्माणबारे, क्वारेन्टिन अनुगमनबारे र जनचेतना सम्बन्धमा विभिन्न निर्णय गरेको हो।

केन्द्रले गरेको निर्णयमा निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरूमा बैंक तथा वित्तीय संस्थाहरू र अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्ने निर्णय गरेको छ।  

कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चालन गर्ने, (मास्क, स्यानिटाइजर, साबुन, पञ्जा, अक्सिजन) उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने, सार्वजनिक निर्माणका कार्यहरूमा संलग्न श्रमिकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी सार्वजनिक निर्माणका कार्य सुचारु राख्ने, आयोजनाका निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका चालक र सहयोगीलाई उद्गम र गन्तव्य प्रष्ट उल्लेख भएको आयोजनाले जारी गरेको परिचयपत्रका आधारमा सवारी साधन सञ्चालन गर्ने पनि निर्णय गरेको छ।  

केन्द्रले क्वारेन्टिन अनुगमन सम्बन्धमा पनि निर्णय गरेको छ। निर्णय अन्तर्गत काठमाडौं उपत्यकाको हकमा पर्यटन विभाग, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीले संयुक्त रूपमा होटेल क्वारेन्टिनमा बस्नेहरूको नियमित अनुगमन गर्ने, अन्य जिल्लाको हकमा प्रदेश र स्थानीय तहले सम्बन्धित निकायहरू सम्मिलित संयन्त्र निर्माण गरी अनुगमन गर्ने, होम क्वारेन्टिनमा बसेकाहरूको सम्बन्धमा स्थानीय तहले अनुगमन गर्ने, होटेल क्वारेन्टििनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल देश निकालागर्ने प्रक्रिया अघि बढाउने र होटेल क्वारेन्टििनको नियम पालना नगर्ने नेपाली नागरिकलाई कानुनबमोजिम जरिवाना गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै होटेल क्वारेन्टिनको व्यवस्थापनमा लापरवाही गर्ने सम्बन्धित होटेल सञ्चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने पनि केन्द्रले निर्णय गरेको छ।

केन्द्रले आमसञ्चारका माध्यमलाई कोभिडविरुद्धका जनचेतनामूलक सन्देश प्रसारित/प्रकाशित गर्न अनुरोध गर्नेमात्र नभएर स्थानीय तहले टोलटोलमा कोभिडविरुद्धको जनचेतनाका लागि नियमित माइकिङ गर्ने पनि निर्णय गरेको छ।

प्रकाशित: १८ वैशाख २०७८ १३:०३ शनिबार

स्थानीय तह कोराेना संकट व्यवस्थापन केन्द्र