समाज

सुदूरमा बढ्दै कोरोना संक्रमित

पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा पनि नयाँ संक्रमितको संख्या दिनानुदिन बढ्न थालेको छ । सुदूरपश्चिममा बिहीबार एकै दिन मात्रै दुई सय ४० जना नयाँ संक्रमित फेला परेका छन् । नयाँ फेला परेका संक्रमित मध्ये जटिल बिरामीको आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने बाँकी कोही क्वारेन्टाइन र कोही होम क्वारेन्टाइनमा छन् ।  

वैशाख सुरुवाती यता मात्रै एन्टिजेन प्रविधि र आरटी पिसिआरविधिमार्फत् पहिचान भएका ३ हजार ४ सय ३४ जना कोरोना संक्रमितका विरामी रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार हालसम्म नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा यतिका धेरै बिरामी फेला परिसकेका छन् । ती मध्ये थोरैलाई मात्रै सन्चो भएर फर्के पनि अधिकांश भने होम आइसाेलेसन तथा क्वारेन्टाइनमा दिन बिताइरहेका छन् । 

* दुई सातामा २० जनाको मृत्यु  

* २४ घण्टामा मृत्यु हुनेको संख्या ९ पुग्यो  

* दुई सातामा ३ हजार ४ सय ३४ जना संक्रमित  

* स्थानीय सरकारको लापरवाही 

बिहीबार मात्रै सुदूरपश्चिममा आरटी पिसिआर विधिमार्फत् परीक्षण गरिएका दुई सय ४० जना पोजेटिभ देखिएका छन् । जसमध्ये सेती प्रादेशिक अस्पतालमा १३४, डडेल्धुरा अस्पतालमा १५, अछामको कमलबजार अस्पतालमा ११, कञ्चनपुरको महाकाली अस्पतालमा ३६ जना, जिल्ला अस्पताल बैतडीमा १८, जिल्ला अस्पताल डोटीमा १९ जना र जिल्ला अस्पताल बझाङमा ७ जना नयाँ बिरामी थपिएका छन् ।  यस्तै दुई सातामा मात्रै सुदूरपश्चिममा २० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । कञ्चनपुरमा ५ जना, अछाममा २, बैतडीमा १,  बझाङमा २ जना र कैलालीमा १० जनाको मृत्यु भइसकेको छ । बिहीबार मात्रै सुदूरपश्चिममा ९ जनाको मृत्यु भएको हो । जसमध्ये कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ५ जना, महाकाली अस्पतालमा ३ जना र एक जनाको बझाङस्थित जिल्ला अस्पतालमा मृत्यु भएको बताइएको छ । निर्देशनालयका अनुसार वैशाख १ गते यता अहिलेसम्म सुदूरपश्चिममा २० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।  

स्थानीय सरकारको लापरवाही

रोजगारीका लागि भारत गएकाहरु त्यहाँ लकडाउन हुन थालेपछि स्वदेश फर्कनेको घुइँचो छ सीमामा । यस्तो बेला सरकारी पक्षले लापरवाही गर्दा ग्रामीण भेगमा कोरोनाको नयाँ भेरियन्ट फैलिसकेको छ । सीमामा आएकाहरुलाई क्वारेन्टाइनको व्यवस्थापन नहुँदा सिधै घर गएका कारण ग्रामीण भेगमा कोरोनाको संक्रमण बढ्दो छ । नाकामा परीक्षण गराउन अनिवार्य नहुनु र गरेकाहरु पनि क्वारेन्टाइनको व्यवस्थापन नहुँदा सिधै घर जाँदा सुदूरपश्चिमका गाउँ बस्ती अहिले कोरोना जोखिममा छन् ।  

सुदूरपश्चिममा धनगढी उपमहानगरपालिका र महेन्द्रनगरस्थित भीमदत्त नगरपालिकाले मात्रै क्वारेन्टाइन निर्माण गरेर भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखेको छ । तर, अन्य स्थानीय तहले भने क्वारेन्टाइनको व्यवस्थापन नगर्दा बाहिरबाट गाउँ भित्रिएकाहरु सिधै घरमै जान थालेका हुन् । जसले गर्दा कोरोनाको त्रास दिनानुदिन बढ्दै जान थालेको छ ।  

दिनानुदिन कोरोनाको संक्रमण बढिरहेका बेला सम्बन्धित स्थानीय सरकारले कुनै पहल नगरेको प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थी बताउँछन् । ‘स्थानीय पालिकाहरुले कन्ट्रयाक ट्रेसिङ गर्नुका साथै विदेशबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्नुपर्ने हो,’ उनले भने,‘त्यसो नगरिएका कारण सुदूरपश्चिममा कोरोनाको अवस्था भयावह हुन सक्ने आँकलन गरिएको छ ।’ स्थानीय सरकारले समयमै कोरोना रोकथामका लागि सचेतनाका उपाय अपनाउनुका साथै गर्नुपर्ने कामहरु नगरेका कारण समस्या भयावह हुन सक्ने उनले बताए ।

प्रकाशित: १६ वैशाख २०७८ १४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App