समाज

बिस्केट जात्रा नरोक्न माग गर्दै प्रदर्शन

तस्बिर: बिजय राई

भक्तपुरको बिस्केट जात्रा नरोक्न स्थानीयले सोमबार साँंझ प्रदर्शन गरेका छन् । आठ रात नौ दिन लामो जात्रा सुरु हुने स्थान भक्तपुरको पाँंचतल्ले मन्दिर जात्रा नरोक्न माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । साँंझ ६ बजेदेखि साढे ६ बजेसम्म उनीहरुले जात्रा नरोक्न माग लेखिएको पम्पप्लेटहरुको प्रदर्शन गरी उनीहरुले प्रदर्शन गरेका थिए । स्थानीय जात्राप्रेमीहरुको आह्वानमा प्रदर्शन गरिएको भनिए पनि त्यहाँं विभिन्न संगठनका पर्चाहरु पनि वितरण गरेको पाइएको थियो । नेवाः राष्टिय मुक्ति मोर्चा भक्तपुर नगरसमितिबाट वितरण पर्चामा जात्रा रोक्ने निर्णयले भक्तपुरबासी दुःखी भएको जनाएको छ । नगर अध्यक्ष साजन प्रजापतिद्धारा प्रकाशित पर्चामा कुनै पनि बहानामा जात्रा रोक्न नहुने माग गरिएको छ ।  

यसअघि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटराईले जिल्लाबासीको स्वास्थ्यलाई ध्यानमा राखी जिल्ला कोभिड प्रकोप व्यवस्थापन समितिले यो वर्षको जात्रा औपचारिकतामा मात्रै सिमित राख्ने निर्णय गरेको बताए । यस अनुसार भैरबनाथको रथ तान्ने र लिंगो उठाउने कार्य वन्द गरी पूजाआजाको मात्रै काम हुने उनले जनाए ।  

टोलटोलमा हुने स्थानीय जात्राहरू नरोकिने

यसैवीच स्थानीय सरकारको रुपमा रहेको भक्तपुर नगरपालिकाले जात्राको क्रममा नगरका टोलटोलमा हुने ससाना जात्राहरु नरोक्ने बताएको छ । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सञ्चालनसम्बन्धी सरोकारवालाहरूसँगको बैठकपछि मुख्य जात्रा रोक्ने र ससाना टोलमा हुने जात्राहरु नरोक्ने निर्णय गरेको हो । मुख्य जात्राको रुपमा भैरबनाथको रथ तान्ने र लिंगो उठाउने जात्रा हुन्छ । प्रत्येक वर्ष वैशाख १ गतेको चार दिन अगाडि अर्थात् यो वर्ष ३१ गते र वैशाख ५ गते भक्तपुरको पाँंचतल्ले मन्दिर अगाडि राखिएको करिव ३० फिट अग्लो प्यागोडा शैलिमा काठैकाठले बनाइएको भैरबनाथको रथ तान्नु र चैतको अन्तिम दिन यो वर्ष चैत ३१ गते ल्योसिंखेलमा ५५ हात लामो लिंगो उठाउनु र वैशाख १ गते त्यो लिंगो ढाल्नु मुख्य जात्रा हो । यी जात्रा दसौं हजार मानिस भेला हुने गर्दछ । यसबाहेक टोलटोलमा पनि ससाना जात्राहरु यहाँं हुने गर्दछ ।  

बैठकमा नगर प्रमुख प्रजापतिले जात्रा अवधिभर भीड जम्मा नगर्न तथा आवश्यक स्वास्थ्य मापदण्ड अपनाउन नगरपालिकाले जनचेतनामूलक गतिविधि गर्ने, बिस्केटको क्रममा टोलटोलमा मनाइने विभिन्न जात्रामा भीडभाड कम गर्न स्वयम्सेवक परिचालन गर्ने तथा जनताको घरदैलोमा साबुन, माक्स वितरण गर्नेलगायतका तयारीहरू रहेको बताए । भक्तपुरका सहायक प्रजिअ मुकेशकुमार केशरीले मानव जीवन रक्षा नै प्रमुख कारण भएकोले यस वर्षको बिस्केट जात्रा सामान्य पूजाआजामा सीमित गर्ने निर्णय भइसकेको बताए । बैठकमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले सन्तुलित ढंगबाट नजिकिँदै गरेको बिस्केट जात्रा सम्पन्न गर्न सबैको सहकार्य आवश्यक भएको बताइन् । त्यस्तै गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यले संस्थानले बिस्केट जात्रासँग सम्बन्धित सम्पूर्ण दायित्व पूरा गरेको जात्राको समयमा कुनै पनि किसिमको लापरबाही गर्न नहुने बताए ।

कार्यक्रममा जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरका प्रमुख रत्नसुन्दर लासिवा, भक्तपुर नपाका जनप्रतिनिधि, सूर्यविनायक ब्यारेकका प्रमुख सेनानी सामन्तध्वज खाँड, सशस्त्र प्रहरी उपरीक्षक लीलाबहादुर कार्की, राष्ट्रिय अनुन्धान विभागका उपनिर्देशक विकास पाण्डे, तलेजु भवानीका पुजारी प्रजेश राजोपाध्याय, नेपाल विद्युत प्राधिकरण, ख्वप मिनिबस सेवा प्रा.लि., भक्तपुर उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालयबाट प्रतिनिधिहरुलगायतको बैठकमा आआफ्नो धारणा राखेका थिए । साथै वैठकमा बिस्केट जात्रासँग सम्बन्धित इन्द्रायणी, बाराही, ज्याथा गणेश, भैरवनाथ, ब्रम्हायणी, माहेश्वरी, कुटी प्वाक गणेशलगायतका सरोकारवालाहरूले यस वर्षको बिस्केट र बिस्केटसँग सम्बन्धित स्थानीय जात्राहरू शान्तिपूर्ण, व्यवस्थित र सुरक्षित ढंगले सञ्चालन गर्ने विषयमा आ–आफ्नो राय–सुझावहरू दिएका थिए ।

प्रकाशित: २३ चैत्र २०७७ १५:४३ सोमबार

बिस्केट जात्रा