समाज

बुधबार प्रदूषणमा सामान्य सुधार

काठमाडौंलगायत देशभर एकाएक फैलिएको ढडेलो बिस्तारै नियन्त्रणमा आउन थालेलगत्तै राजधानीमा बढेको प्रदूषणमा बुधबार सामान्य सुधार भएको छ। त्यसमाथि बुधवार राति काठमाडौंमा परेको पानीका कारण प्रदुषणको तह घटेको छ। काठमाडौंको वायु अत्यन्तै अस्वस्थ्यकर रहेकोमा डढेलोमा नियन्त्रण र वर्षात्का कारण सुधार भएको हो। 

आइतबार, सोमबार र मंगलबारको तुलनामा बुधबार प्रदुषण घटेको वातावरण विभागले जनाएको छ। ‘सोमबार र मंगलबारको तुलनामा बुधबार प्रदूषणमा थोरै कमी देखिएको छ,’ वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, ‘देशभर फैलिएको डेढलो बिस्तारै नियन्त्रण आएसँगै प्रदूषणमा हल्का सुधार आएको हो।’

विभागका अनुसार बुधबार ललितपुरको भैंसपाटीमा रहेको स्टेसनले वायु गुणस्तर सूचकांक औसतमा २ सयभन्दा कम देखाएको छ। मंगलबार २ सयको हाराहारीमा देखाएको थियो। काठमाडौंमा यो वर्ष शुक्रबार र शनिबार सबैभन्दा बढी प्रदूषण बढेको विभागले जनाएको छ।

 विभागका अनुसार शनिबार ललितपुरको भैंसेपाटीस्थित स्टेसनले वायु गुणस्तर सूचकांक २ सय ९८ र रत्नपार्कमा १ सय ९८ देखाएको थियो। यसैगरी शुक्रबार भैंसेपाटीमा ४ सय ४७ र रत्नपार्कमा २ सयको हाराहारीमा देखिएको थियो। तर, बुधवार राति पानी परेसँगै प्रदुषण घट्न पुगेको छ।  

काठमाडौं वरिपरि र मध्य तराईका जिल्लाका वनमा एकैपटक ठूलो संख्यामा डढेलो लागेपछि काठमाडौमा एकाएक प्रदूषण बढेको हो। डढेलोको प्रभाव काठमाडौंलगायत देशभर बढेको छ। केही दिनयता डेढेलोमा बिस्तारै नियन्त्रणमा आएको विभागले जनाएको छ। वातावरणविद्हरूले प्रदूषण बढेका बेला सकेसम्म घरबाहिर ननिस्कन सर्वसाधारणलाई सल्लाह दिएका छन्।

प्रकाशित: १९ चैत्र २०७७ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App