समाज

दोभान बजारका अग्निपीडितलाई ग्यास चुल्हो

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं ३ खाम्लुङको दोभान बजारका अग्निपीडितलाई प्रदेश सरकार र मध्य मेवा जलविद्युत् परियोजनाले खाना पकाउने ग्यास सिलिण्डर तथा ग्यास चुल्हो सहयोग गरेका छन्। प्रदेश १ सरकारले ६० पीडित परिवारका लागि १–१ थान ग्यास सिलिण्डर तथा मध्य मेवा जलविद्युत् परियोजनाले लागि १–१ थान ग्यास चुल्हो प्रदान गरेका हुन्। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले अग्निपीडितलाई यि सामग्री वितरण गरेका छन्।  

प्रदेश १ सरकारले अग्निपीडित परिवारका लागि आपतकालिन राहत स्वरुप १–१ थान नयाँ ग्यास सिलिण्डर दिने घोषणा गरेको थियो। २० फागुनमा आगलागीग्रस्त क्षेत्र दोभान बजार आएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अग्निपीडितका लागि आपतकालिन राहत स्वरुप १–१ थान ग्यास सिलिण्डर प्रदान गर्ने बताएका थिए। प्रदेश सरकारले ग्यास सिलिण्डर दिने भएपछि मध्य मेवा जलविद्युत् परियोजनाले ग्यास चुल्हो दिने बताएको थियो। दुबै सामग्री सोमबार एकसाथ वितरण गरिएको छ।  

आगलागीग्रस्त क्षेत्र मेरिङ्देन गाउँपालिका वडा नं ३ खाम्लुङका वडाध्यक्ष गणेशप्रसाद भण्डारीको रोहवरमा ति सामग्री अग्निपीडितलाई प्रदना गरिएको छ। प्रदेश सरकारले अग्निपीडितमध्ये घर जलेका परिवारलाई प्रति परिवार ५० हजार र डेराभाडामा बस्ने परिवारलाइ प्रति परिवार ३० हजार रुपैयाँका दरले राहत रकम समेत दिने घोषणा गरेको छ। 

यसैबीच संघीय सरकारले दिने भनेको १ लाख रुपैयाँ राहत रकम पनि जिल्ला प्रशासन कार्यालयको खातामा आइसकेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए। त्यो रकम भने घरबार पूर्ण रुपमा जलेका र अन्यत्र घर नभएका सदस्यले मात्र पाउने कानुनी प्रावधान रहेको र आफूले यसका बारेमा मेरिङ्देन गाउँपालिकालाई यसका बारेमा जानकारी गराएको समेत प्रजिअ पाण्डेले जानकारी दिए।  

राहत वितरण कार्यक्रममा जिल्ला प्रहरी प्रमुख(डिएसपी)बालनरसिंह राणा, सशस्त्र प्रहरी वल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति (सशस्त्र डिएसपी)रोशन बुढाथोकी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख दुर्गा चापागाँइसहितको उपस्थिति रहेको थियो।

प्रकाशित: १० चैत्र २०७७ ०६:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App