समाज

सुत्केरीलाई उपाध्यक्षको कोसेली (अपडेट)

सुत्केरी महिलाको पोषण सुधार्न शिवना गाउँपालिकाले सुत्केरीलाई उपाध्यक्षको कोसेली कार्यक्रम सुरु गरेको छ । एक हजार दिनका आमा तथा शिशुको पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यले गाउँपालिकाले गत वर्षदेखि उक्त कार्यक्रम संचालन गरेको हो। पोषिला खानेकुरा भएको झोला कोसेलीको रुपमा दिन थालेको हो ।

‘पोषिलो आहार शिशुको स्याहार,स्वस्थ बालक स्वस्थ नागरिक’ भन्ने नारासहित गाउँपालिकाले कोसेली अभियानलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको छ । गर्भवती महिलाको घरमा झण्डा राख्ने, स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषिलो खानेकुरा र सरसफाइ सामग्री भएको झोला दिने तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मीसँग गर्भवती महिलाको अन्तरक्रिया सञ्चालन हुँदै आएको छ ।  मातृशिशु मृत्युदर घटाउन यो कार्यक्रमले सहयोग  पुग्ने गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताइन् ।

गाउँपालिकामा रहेका गर्भवती महिलाको घरमा दुई किसिमको झण्डा राख्ने गरिएको छ । गर्भवतीको स्वास्थ्य जाँच गरि सामान्य भएमा हरियो र कुनै किसिमको खतराका लक्षण देखिएमा रातो झण्डा राख्ने गरिएको हो । झण्डा राख्दा गर्भवती महिलाको घरपरिवारलाई जिम्मेवारीबोध हुने गरेको छ ।

स्वास्थ्य सस्थामै सुत्केरी हुन आउने महिलालाई पोषण र सरसफाइ सामग्री भएको झोलामा ज्वानो, मेथी, शुद्ध तोरीको तेल, साबुन, नेलकटर, कोलगेट मेक्सी, पेन्टीलगायतका ११ सामग्री  हुने गरेका छन् । अन्य स्थानीय तहले पनि बच्चा र सुत्केरीको पोषण अवस्था सुधार्न कोसेली कार्यक्रम गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्टले बताए ।

गर्भवतीसँग जनप्रतिनिधि, स्वास्थ्यकर्मीले अन्तरक्रिया कार्यक्रम गर्ने भएकोले जनचेतना अभिवृद्धि गर्न पनि सहज भएको छ । घरमै सुत्केरी हुँदा विभिन्न खतरा हुनसक्ने, पोषिलो खानेकुरा सेवन गर्ने, स्वास्थ्यप्रतिको नकारात्मक सोचलाई चिर्न सफल भएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए ।

संस्थागत प्रसूतिलाई थप प्रोत्साहन गरी मातृ मृत्यु तथा नवजात शिशु मृत्यु कम गर्न  यो अभियान सञ्चालन गरेका हौं ।’ ‘स्वास्थ्यमा शान, शिवनाथको पहिचान’ नारा दिएर अन्तरक्रिया  कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए । सुत्केरीलाई उपाध्यक्षको कोसेली कार्यक्रमका लागि गाउँपालिकाले ८ लाख बजेट छुट्याएको छ । शिवनाथ गाउँपालिकाले चालु आर्थिक वर्षभित्रै गाउँपालिकालाई घरमा हुने शून्य सुत्केरी तथा पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्य राखेको छ । 

प्रकाशित: २७ फाल्गुन २०७७ १२:४१ बिहीबार

सुत्केरीलाई कोसेली आमा तथा शिशुको पोषण मृत्युदर