समाज

फेवातालको गहिराई बढाउन माटो निकाल्ने तयारी

पोखराको मुख्य पर्यटकीय क्षेत्र फेवाताल । तस्बिरः उमेश पुन÷नागरिक

पानी घटाएको मौका पारेर माटो निकाल्दै फेवातालको गहिराई बढाइने भएको छ । अहिले तालको बाँध मर्मतसम्भार गर्न फेवातालको पानीको सतह घटाइएको छ । पानी घटेको यही मौकामा  सोमबारदेखि फेवातालको गहिराई बढाउने गरि माटो निकाल्ने तयारी भएको हो ।  

बाँध मर्मतसम्भारको लागि फेवातालको पानीको सतह घटाएपछि नागरिक स्तरबाट फेवाको गहिराई बढाउनुपर्ने आवाज उठेको थियो । त्यससँगै संघसंस्थाले पनि माटो निकाल्न दवाब बढाएपछि गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समिति, सिंचाई डिभिजन कार्यालय लगायतका सरोकारवालाको बैठकले तालमा थुप्रिएको माटो निकाल्ने निर्णय गरेको हो ।  

अब फेवातालमा संकलन भएको माटो, ढुंगा, गिट्टी, बालुवा बाहिर निकालिने फेवातालमा थुप्र्रिएको माटो ब्यबस्थापन समितिका संयोजक रामकाजी श्रेष्ठले जानकारी दिए । तालमा संकलित ढुंगा, माटो आइतबारबाटै निकाल्न शुरु गर्ने भनिएपनि तयारी नपुगेपछि सोमबारदेखि सुरु हुने उनले बताए ।  

फेवातालबाट १५ हजार घन मिटर माटो निकाल्ने तयारी गरिएको छ । फेवातालको सिरान क्षेत्र मानिने फिर्केखोला, हर्पनखोला, खहरेखोला लगायतका क्षेत्रबाट फेवामा मिसिने क्षेत्रबाट माटो निकालिने संयोजक श्रेष्ठले बताए । फेवातालको माटो ६–७ मिटर निकाल्ने तयारी गरिएको उनको भनाई छ । ‘अहिले माटो थुप्रिएको ठाउँमा केहि वर्ष अघिसम्म ६–७ मिटर गहिराई थियो,’ उनले भने, ‘अहिले त्यो पुरिएर ताल नै दुईवटा बनेजस्तो देखिएको छ । त्यसैले पहिलेकै अवस्थामा फर्काउने गरी माटो निकाल्ने तयारीमा छौं ।’

 श्रेष्ठका अनुसार माटो निकाल्न झन्डै डेढकरोड रुपैयाँ आवश्यक पर्छ । एक्साभेटरको प्रयोग गर्दा करिब २५ लाख रुपैयाँमै काम हुने भएपनि गह्रौ उपकरण गर्न नमिल्ने भएपछि मान्छे लगाएर माटो निकाल्दा झण्डै १ करोड ३३ लाख खर्च लाग्ने अनुमान रहेको उनको भनाई छ । फेवाताल संवेदनशील क्षेत्र भएकाले सबै ठाउँमा एक्साभेटर प्रयोग गर्न नमिल्ने भएकाले मान्छेको प्रयोग गर्नुपर्ने बाध्यता रहँदा खर्च बढ्ने उनको भनाई छ ।

फेवातालको गहिराई बढाउन सबै सहमत भएपनि बजेट निकाल्न भने समस्या भएको छ । आर्थिक वर्षको अन्त्यतिर भएकाले प्रदेश सरकार, पोखरा महानगरपालिका, सिंचाई डिभिजन कार्यालय वा अन्य कुनैपनि कार्यालयले बजेट निकाल्न समस्या भएको हो । यद्दपि पोखरा महानगरपालिकाले ५० लाख र प्रदेश सरकारले २५–३० लाख रुपैयाँ बजेट दिने आश्वासन दिएको छ । तर, कसैले पनि तत्काल बजेट निकासा गरिहाल्ने स्थिति नरहेकाले रकमान्तर गरेर मात्र बजेट दिने भनेको श्रोतको भनाई छ । तत्काल बजेट नभएपछि ताल संरक्षण तथा विकास प्राधिकरणको ५ लाखबाट काम शुरु गर्ने तयारी गरिएको संयोजक श्रेष्ठले बताए । त्यसपछि फेवाताल क्षेत्रमा रहेको कोमागाने पार्कको नाममा रहेको कोषबाट २० लाख निकालेर खर्च गर्ने तयारी भएको उनको भनाई छ । यसका अलावा फेवा जलाधार क्षेत्र संरक्षण कोषमा रहेको १५ लाख रुपैयाँ पनि तानेर माटो निकालिने उनले बताए । त्यतिञ्जेल महानगर र प्रदेश सरकारले बजेट रकमान्तर गरेर दिने उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

फेवातालको क्षेत्रफल ५.७२ वर्ग किलोमिटर

सोमबारदेखि फिर्केखोला मिसिने फेवा क्षेत्रबाट माटो निकाल्न शुरु गरिने उनले बताए । माटो निकाल्ने काम गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको उपस्थितिमा शुरु गरिने उनले बताए । माटो निकाल्न ढिलाई हुँदा फेवा बाँधको काम सकिएपनि पानी जमाउन ढिलाई हुने भएको छ । फेवा बाँध मर्मत सम्भारको काम सकिएपनि माटो निकाल्न ढिलाई हुँदा फेवातालमा पानी जमाउन ढिलाई भएको सिंचाई डिभिजन कार्यालय पोखराका प्रमुख किरण आचार्यले बताए । ‘मर्मत सम्भारको काम सकिएको ३÷४ दिन भइसक्यो,’ उनले भने, ‘माटो निकाल्न ढिलाई हुँदा पानी जमाउन पनि समस्या भएको छ । तरपनि बाँधको परिक्षणका लागि पानी जमाउने काम भने शुरु गरिएको उनले बताए ।

यसैबीच, फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले फेवातालको चार किल्ला छुट्याएर सरकारलाई प्रतिवेदन बुझाएको जनाएको छ । समितिले फेवातालको बास्तविक क्षेत्र ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा अर्थात ५.७२६ वर्ग किलोमिटर रहेको भन्दै सो क्षेत्रको सिमांकन कायम गर्न सिफारिस गर्दै प्रतिवेदन तयार गरेको छ । साथै सो समितिले सिमाङ्कनको काम सकेर अब तालको बास्तविक पानीको क्षेत्रफल, दुषित भनिएको जग्गाको बास्तविकता पत्ता लगाउँदै मुआब्जाका लागि आवश्यक पर्ने बजेटसहित संरक्षणको काममा लागेको समितिका संयोजक पुण्य पौडेलले जानकारी दिए ।

प्रकाशित: १६ फाल्गुन २०७७ १०:०३ आइतबार

फेवाताल