प्रहरीले विभिन्न घटनामा संलग्न भइ फरार २ जनालाई पक्राउ गरेको छ। आफ्नै पत्नीको हत्या गरी फरार सूर्याेदय नगरपालिका–५, खरबने टोलका २३ वर्षे दिनेश तामाङ र सवारी अंगभंगका फरार दोषी देउमाई नगरपालिका–१ का ३१ वर्षे दिनेश लामिछाने पक्राउ परेका हुन्।
तामाङलाई भारतीय सीमा क्षेत्र सिद्धिखोला र मेची खोलाको दोभानछेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले फागुन २ गते पत्नी १९ वर्षीया गीता तामाङको हत्या गरेको आरोप छ। सादा पोसाकमा खटिएको प्रहरी टोलीले तामाङलाई फेला पारेको थियो।
लामिछानेलाई खोजतलास गर्नेक्रममा पाँचथरबाट पक्राउ गरिएको हो। लामिछानेलाई अदालतले २०६७ असार २ मा ३ वर्ष ११ महिना १० दिन कैद तथा २५ हजार रुपैयाँ जरिवाना तोकेको थियो। पक्राउ परेका लामिछानेलाई कारागार चलान गरिएको जिल्ला प्रहरीका डिएसपी लालध्वज सुवेदीले बताए।
प्रकाशित: ९ फाल्गुन २०७७ ०४:५२ आइतबार