समाज

लाजले पाठेघरको समस्या लुकाउँछन् महिला

लेखगाउँ स्वास्थ्य चौकीले आयोजना गरेको पाठेघर सम्वन्धी स्वास्थ्य शिविरमा चेकजाँचका लागि आएका महिलाहरु ।

बराहताल गाउँपालिका–९ सिरुपाटाकी मनिसरा पुलामी १२ वर्षदेखि पाठेघर झर्ने समस्याबाट पीडित थिइन् । उनले आफ्नो पीडा वर्षौसम्म लुकाएर राखिन् । पाठेघर झर्ने समस्याका कारण पुलामीलाई हिंडडुल गर्न, उठबस गर्न समस्या हुन्थ्यो । अघिल्लो वर्ष मनिसराको पीडा श्रीमानले थाहा पाए । महिला स्वास्थ्य स्वयम्सेवीका बुहारी हरिकला पुलामीलाई श्रीमतीको समस्या सुनाए । उनले तत्कालै कर्णाली प्रदेश अस्पतालमा पु¥याइन् । चिकित्सकले मनिसराको पाठेघरमा रिङ राखिदिए ।  

‘लाज’का कारण उनले आफ्नो पीडा वर्षौसम्म श्रीमानलाईसमेत सुनाउन सकिनन् । ‘अरु समस्या भए भन्न सकिन्थ्यो, यस्तो कुरा भन्न लाज लाग्यो,’ मनिसराले भनिन्, ‘समस्या लुकाउँदा १२ वर्षसम्म साह्रै दुःखका दिन कटाएँ ।’ पाठेघरमा रिङ राखेदेखि उनलाई केही सहज भएको छ ।  

लेखगाउँ स्वास्थ्य चौकीको आयोजनामा पाठेघर खस्ने समस्याको स्क्रिनिङ उपचारका लागि पुगेका कर्णाली प्रदेश अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. केशर ढकालका अनुसार मनिसराको पाठेघर खस्ने समस्या तेस्रो चरणमा पुगेको छ । ‘पाठेघरको अप्रेशनका लागि प्रदेश अस्पतालमा रेफर गरेका छौं,’ उनले भने ।

सोतखोलाकी तुलसरा खासु ३४ वर्षको हुँदादेखिनै पाठेघर खस्ने समस्याबाट पीडित थिइन् । उनी अहिले ६६ वर्षकी भइन् । खासुले पनि आफ्नो समस्या कसैलाई सुनाइनन् । पीडा बल्झँदै गएपछि श्रीमानले थाहा पाए । ‘हिँड्नै नमिल्ने अवस्थामा पुगेपछि श्रीमानले सोधीखोजी गर्नुभयो, लाज मानीमानी आफ्नो पीडा सुनाएँ,’ खासुले भनिन्, ‘सुरुमा गाली गर्नुभयो, पछि उपचार गराउन लिनुभयो ।’ उनको पनि पाठेघर खस्ने समस्या दोस्रो चरणमा छ ।  

स्वास्थ्य शिविरमा ६० जना महिलाको पाठेघर र क्यान्सरको चेकजाँच गरिएको थियो । स्वास्थ्य चौकी प्रमुख उदयबहादुर थापा क्षेत्रीका अनुसार ति मध्ये एक जनामा पाठेघर क्यान्सर देखिएको छ भने एकको तेस्रो स्टेज पाठेघर खसेको छ । ‘दोस्रो स्टेजमा रहेका पाँच जना महिलालाई व्यायाम गर्ने विधि र आौषधि दिएका छौं,’ उनले भने, ‘उनीहरुलाई थप उपचारका लागि प्रदेश अस्पतालमा रेफर गरिएको छ ।’ यस्तै पहिलो चरणको पाठेघरको समस्या देखिएका १० जना महिलालाई औषधि उपलब्ध गराइएको स्वास्थ्य चौकी प्रमुख क्षेत्रीले बताए ।

प्रदेश अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. ढकालले लाज मानेर समस्या लुकाउँदा ग्रामिण क्षेत्रका महिलाहरु थप पीडामा रहेको पाइएको बताए । ‘लाज, अपहलेना, बहुविवाह, अधिक घरयासी कामकाज, चेतनाको कमीलगायतका कारणले महिलाले आफ्नो रोग लुकाउने गरेको पाइयो,’ उनले भनिन्, ‘प्रदेश राजधानीसँगै जोडिएको गाउँमा यो समस्या छ भने दूरदराजका महिलाहरुमा कति समस्या होला ?’

प्रकाशित: ६ फाल्गुन २०७७ ०३:५४ बिहीबार

पाठेघर झर्ने समस्या रोग लुकाउँदाको पीडा