समाज

बैतडीमा किशोरीको विभत्स हत्या, बलात्कार गरेर हत्या गरिएको आशंका

बैतडीमा एक किशोरीको बिभत्स हत्या गरिएको छ । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बिभत्स हत्या गरिएको हो । बलत्कार पछि हत्या गरिएको आशंका गरिएको छ ।

घरवाट करिव १ घण्टाको पैदल दुरीमा रहेको सनातन धर्म सिरकोट माध्यमिक विद्यालयका उनी अध्ययनरत थिइन् । वुधबार घरबाट विद्यालय गएकी भट्ट साँझ घर फर्किनन् । घर नफर्केपछि उनको खोजी गर्दा साँझ ५ बजेतिर लवलेक जंगलमा फेला परेको मृतकका आफन्त शिवराज भट्टले बताएका छन । घर र विद्यालयको बिचमा पर्ने जंगलमा उनको शव फेला परेको हो । सडकवाट करिव ५० मिटर तल उनको शव फेला परेको प्रहरीले बताएको छ । लुगा च्यातिएको, हात काटिएको, शरिरमा निलडाम र घाटीमा समेत निलडाम भएको अवस्थामा शव फेला परेको उनले बताए । हत्या गरेर जंगलमा फालेको उनका आफन्तले बताएका छन ।

प्रमुृख जिल्ला अधिकारी, सरकारी वकिल, चिकित्सक सहितको टोली घटनास्थलमा गएको नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।  

घटनास्थलमै शवको अवस्था लगायतका जाँच गरेर घटनास्थलबाट वास्तविक अवस्था पत्ता लगाउन सहज होस भनेर चिकित्सक समेत घटनास्थल गएको उनले बताए । बैतडी जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीसहितको प्रहरी टोली घटनास्थलमा गएको छ । घटनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिमप्राप्त कुकुर सहितको टोली पनि खटिएको छ ।

भट्टको बलात्कारपछि हत्या गरिएको मृतकका आफन्तले आशंका गरेका छन् । भट्टको शव विभत्स अवस्थामा फेला परेकाले बलात्कार गरी हत्या गरेको हुन सक्ने मृतकका आफन्त शंकर भट्टले बताए । किशोरीले बोक्ने मोवाईल फेला परेको छ ।  

विद्यालयको पढाई सकेर २ बजे फर्केकी थिइन् किशोरी  

वुधबार भागरती विद्यालय पुगेकी थिइन् । दुई बजेसम्म सवै बिषयको पढाई सकिएपछि २ बजे बिद्यालयवाट घर जान गएको शिक्षकले बताएका छन ।  उनी विद्यालयको पढाई सकिएपछि वुधबार दिउँसो २ बजेतिर विद्यालय नजिकैको खोचलेक बजारमा उनलाई स्थानियले देखेको बताएका छन । विद्यालयबाट फर्कने क्रममा उनको हत्या गरिएको हुनसक्ने स्थानीय बताउछँन ।

एसएसपीको नेतृत्व प्रहरीको टोली  परिचालन

विद्यालय गएकी किशोरीको बिभत्स तरिकारले हत्या भएको घटनाको अध्ययनका लागी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयवाट वरिष्ठ प्रहरी उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वमा विज्ञ सहितको ३ सदस्यीय प्रहरी टोली पनि खटाईएको प्रवक्ता सिंहले बताए ।

घटनालाई गम्भिरतापूर्वक लिएर प्रहरीले सुक्ष्म तरिकाले अनुसन्धान शुरु गरेको उनले बताए । हत्याको आशंका गरिएको भएपनि शवको पोष्टमार्टम पछि मात्र सबै कुरा खुल्ने उनको भनाई छ । घटनास्थलमा किशोरीको मोवाईल फेला परेको छ । मोवाईलबाट पनि प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।  

हत्याको बिरोधमा प्रदर्शन

विद्यालय गएकी किशोरीको हत्यारालाई कारवाहीको माग गर्दै बैतडीमा स्थानिय तथा विद्यार्थीले प्रदर्शन गरेका छन । स्थानिय खोचलेक बजारमा प्रदर्शन गरेका छन भने महाकाली राजमार्ग समेत बन्द गराएका थिए । प्रदर्शनमा मृतक किशोरी पढ्ने सनातन धर्म सिरकोट माध्यमिक बिद्यालयका विद्यार्थी समेत सहभागी थिए ।  

बिद्यालय गएकी किशोरीको बिभत्स हत्या भएको भन्दै घटनाको सुदूरपश्चिम भरिका वासिन्दाले व्यापक बिरोध गर्दै कारवाहीको माग गरेका छन । समाजिक सन्जाल फेसवुक लगायतमा दोषीलाई कारवाहीको माग गरिएको छ ।

 

 

प्रकाशित: २३ माघ २०७७ १०:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App