समाज

अव्यवहारिक क्रसिङले पैदल यात्रीलाई सास्ती

मोहनापुल-अत्तरिया ६ लेन सडकको दुबै लेन छुट्याउन बनाइएको डिभाइडर । तस्बिर: नागरिक

बहुप्रतिक्षित आयोजनाको मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माण भएसँगै खुसी भएका नागरिकलाई अव्यवहारिक क्रसिङ (डिभाइडर) ले भने सास्ती दिइरहेको छ। करिब एक किलोमिटरको दूरीमा क्रसिङ पास राख्दा एक लेनबाट अर्को लेनमा जाने यात्रुलाई निकै लामो दूरी पार गर्नुपर्ने बाध्यता रहेको छ। ‘धनगढी चौराहबाट विद्युत् कार्यालयमा महसुल बुझाउन जाँदा मिलनचोक पुगेर पुनः फर्कनु पर्ने बाध्यता छ,’ स्थानीय राजकुमार चौधरीले भने, ‘६ लेन सडकमा अव्यवहारिक क्रसिङ पास राख्दा एक लेनबाट अर्को लेन जान निकै टाढा जानुपर्ने बनाइएको छ।’  

धनगढी सुदूरपश्चिमको मुख्य व्यापारिक केन्द्र र त्यसमा पनि प्रदेशकै राजधानी रहेको ठाउँमा जनघनत्वको चाप अत्याधिक रहेकाले त्यस्तो ठाउँमा क्रसिङ राख्दा व्यवहारिकता निभाउनु पर्ने उनको माग छ। ‘धनगढीको मोहनापुलदेखि चटकपुरको मुख्य बजार क्षेत्रमा जम्मा ३ ठाउँमा मात्रै क्रसिङ राखिनाले साइकल, मोटरसाइकल तथा चार पाङ्ग्रे सवारी साधनलाई लामो दूरी तय गर्नुपर्ने बाध्यता छ,’ धनगढीका व्यापारी कैलाश जोशीले भने, ‘यो अलि अव्यवहारिक भएका कारणले सामान्य यात्रुले सास्ती खेप्नु परेको छ।’ क्रसिङ राखिँदा पेट्रोलियम पदार्थ राखिएको पम्प, विद्यालय, भिडभाड हुने सरकारी कार्यालय तथा सवारी साधन पार्किङ गरिने स्थल नजिक हुनु पर्नेमा पुरै अव्यवहारिक तरिकाले राखिएको उनले गुनासो गरे।

६ लेन सडक भनेको हाइबे ‘कन्सेप्ट’को भएकाले यसलाई धनगढी सहर बीचबाट नबनाएर बस्तीभन्दा टाढा बनाउनु पर्ने भए पनि मापदण्डविपरीत बजारमै बनाइएको कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम बिष्टले बताए। ‘पहिलो कुरो त यस्तो ठूलो राजमार्ग बजारमा बनाइनु हुँदैन थ्यो, बनाइहालियो,’ उनले भने, ‘बनाइसकेको सडकलाई पनि यहाँको जनघनत्व, यात्रु चाप, भिडभाड हुने सरकारी कार्यालय र अत्यावश्यकीय पेट्रोलियम पम्मलाई लक्षित गरेर क्रसिङ दिइनुपर्छ।’  

६ लेन सडक निर्माण गर्नुअघि गुगलबाट हेरेर डिजाइनिङ गरिएको आरोप लगाउँदै उनले भने, ‘सुरुमै सडकको डिजाइनिङ गर्दा फिल्डमा आएर त्यहाँको भौगोलिक तथा सामाजिक वस्तुस्थितिलाई अध्ययन गर्नुपथ्र्यो, त्यो नगरेरै अव्यवहारिक तरिकाले निर्माण गरियो।’ अव्यवहारिक तरिकाले क्रसिङ राख्दा व्यवसायीलाई समेत मर्का परेको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष शंकर बोगटीले भने, ‘करिब एक किलोमिटर टाढाको दूरीमा एक लेनबाट अर्को लेनमा छिर्ने क्रसिङ बनाइँदा धनगढी बजार क्षेत्रका उद्योगी व्यवसायीलाई समस्याथपिएको छ।’  

नजिकै आइपुगेको ग्राहकले लामो दूरी पार गरेर फर्किनु पर्ने बाध्यतालाई सहजीकरण गरेर क्रसिङलाई व्यवहारिक हिसाबले नजिक बनाइनु पर्ने उनको भनाइ छ। मोहनापुलदेखि अत्तरियासम्मको १४.२ किलोमिटर सडक खण्डमा १५ ठाउँमा क्रसिङ प्वाइन्ट राखिएको बताउँदै मोहनापुल–अत्तरिया सडक योजना प्रमुख युवराज पोख्रेलले भने, ‘हामीले डिभाइडर (क्रसिङ) हाइवेको ‘कन्सेप्ट’ मा बनाएका हौँ, तर, यहाँ सडकबीच बजारमा परेकाले केही समस्या देखिएको छ।’

क्रसिङ राख्नका लागि समस्या देखिएपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको रोहबरमा क्रसिङ राखिने स्थल छुट्याइएको उनले बताए। ‘स्थानीयलाई क्रसिङमा केही समस्या भएमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा २०७६ भदौ ३० गते बसेको बैठकले आवश्यकता अनुसार अन्य ठाउँमा पनि क्रसिङ राख्न सकिने निर्णय गरेकाले त्यो सोच्न सकिन्छ,’ उनले भने। पेट्रोलियम पम्पको अगाडि भने उनीहरूले सरकारको मापदण्ड पूरा नगरेकाले क्रसिङ नछोडिएको उनको भनाइ थियो।

‘पेट्रोलियम पम्पलाई सरकारको नयाँ निर्देशिका अनुसार मापदण्ड पूरा नगरेकाले उनीहरूलाई क्रसिङ छोड्ने सकिएन,’ योजना प्रमुख पोख्रेलले भने, ‘पटक–पटक सरकारी मापदण्ड पूरा गर्न पत्राचार गर्दा पनि नगरेकाले त्यस्तो समस्या देखिएको हो।’ सडक अहिले पनि निर्माण चरणमै रहेकाले त्यसलाई केही व्यवहारिकता हेरेर ठाउँ दिन सकिने उनको भनाइ छ।

प्रकाशित: २२ माघ २०७७ ०२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App