समाज

पत्रकार महिला पुरस्कार स्थापना

नेपाल पत्रकार महासंघ, इलाम शाखाको १६औं साधारणसभामा सहभागी । तस्बिर : भीम/नागरिक

महिलालाई पत्रकारितामा आकर्षित र प्रोत्साहन गर्न नेपाल पत्रकार महासंघ इलाम शाखाले पत्रकार महिला पुरस्कार स्थापना गरेको छ। शाखा अध्यक्ष कोकिला ढकालले महासंघको १६औं साधारणसभा अवसरमा पुरस्कार स्थापनाको घोषणा गरिन्।  

जिल्लामा क्रियाशील एक पत्रकार महिलालाई बर्सेनि १० हजार रुपैयाँ नगदसहित पुरस्कृत गर्नेगरी पुरस्कार स्थापना गरिएको हो। ‘पत्रकारिताप्रति महिलाको आकर्षण जिल्लामा कम छ,’ अध्यक्ष ढकालले भनिन्, ‘पत्रकारितामा अवसर भएर पनि आकर्षण र प्रोत्साहन अभावले महिलाको संख्या थोरै भएको छ।’ पत्रकारितामा महिला आउने तर केही समयपछि पलाउन हुने समस्या रहेको अध्यक्ष ढकालले बताइन्। ‘पत्रकारितामा महिलालाई टिकाउन उत्साह, प्रोत्साहन र दक्षता खाँचो छ,’ उनले भनिन्, ‘महासंघले महिलाका लागि पेसागत दक्षता अभिवृद्धिका कार्यक्रमसमेत गरिरहेको छ। पुरस्कारको अवधारणाले पत्रकारितामा महिलालाई थोरै भएपनि प्रोत्साहन गर्छ भन्ने आशा छ।’  

पुरस्कारको निरन्तरताका लागि महासंघले पत्रकार महिला पुरस्कार कोष स्थापना गरेको छ। कोषमा महासंघले २५ हजार रुपैयाँ जम्मा गरेको छ। इलाम नगरपालिकाले कोषका लागि २५ हजार रुपैयाँ सहयोग गरेको र पुनः ७५ हजार रुपैयाँ थप्ने प्रतिबद्धता जनाएको अध्यक्ष ढकालले बताइन्। कोषका लागि साधारणसभाकै अवसरमा शाखा सदस्य रीता राराहाङ राईले ५ हजार ५ सय तथा महासंघ १ नम्बर प्रदेश समिति सदस्य केशव लामाले २ हजार रुपैयाँ सहयोग गरेका छन्। जिल्ला समन्वय समितिले समेत कोषका लागि सहयोग गर्ने प्रतिबद्धता गरेको छ।

महासंघले हरेक वैशाख १ मा वितरण गर्ने गरेको आशिष स्मृति पत्रकारिता पुरस्कार अक्षयकोषको रकम ५० हजार रुपैयाँबाट बढाएर १ लाख रुपैयाँ पुर्‍याएको छ। पुरस्कारको राशिसमेत ५ हजार रुपैयाँबाट बढाएर दोब्बर बनाएको छ। दुर्घटनामा परेका पत्रकारहरूका लागि सहयोग गर्न आपत्कालीन राहत कोष स्थापना गरी २ पत्रकारलाई सहयोगसमेत प्रदान गरेको महासंघले जनाएको छ। ‘तीनवटै कोषको रकम वृद्धि गरिनेछ,’ उनले भनिन्, ‘नागरिकको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षामा अग्रपंक्तिमा रहने पत्रकारको भौतिक र पेसागत सुरक्षामा महासंघ क्रियाशील छ।’  

साधारणसभा उद्घाटन गर्दै महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले जस्तोसुकै परिस्थितिमा पत्रकारहरू फिल्डमा खटेर रिपोर्टिङ गरिरहेको भन्दै उनीहरूको पेसागत र भौतिक सुरक्षामा सबै सरोकारवाला चनाखो हुनुपर्ने बताए। ‘देश ७६ जिल्लामा महासंघका भौगोलिक शाखा छन्, तीमध्ये अध्यक्ष महिला रहेको शाखा इलाममात्रै हो,’ उनले भने, ‘पत्रकार महिलालाई अन्य जिल्ला शाखामा पनि नेतृत्वमा ल्याउन हामी सबैले प्रयास गर्नुपर्छ। इलामले देखाएको उदाहरणले अन्य जिल्ला शाखालाई समेत प्रोत्साहित गरेको छ।’  

साधारणसभा अवसरमा जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराल, नेपाल नगरपालिका संघ १ नम्बर प्रदेशका संयोजक तथा इलाम नगर प्रमुख महेश बस्नेत, महासंघका केन्द्रीय उपाध्यक्षद्वय विपुल पोख्रेल र दिलीप थापामगर, कोषाध्यक्ष राजेश मिश्र, केन्द्रीय सदस्य सटेन्द्र जबेगू र महासंघ १ नम्बर प्रदेश समितिका अध्यक्ष विक्रम लुइँटेललगायत सहभागी थिए। शाखाले प्रस्तुत गरेको प्रगति र आर्थिक प्रतिवेदन सभाले पारित गरेको छ।

प्रकाशित: १३ माघ २०७७ ०२:५० मंगलबार