समाज

कोराना परीक्षण सुस्त, नमुना संकलन नै न्यून

सुदूरपश्चिममा कोरोना परीक्षण सुस्त भएको छ। नमुना संकलन गर्नमा सम्बन्धित निकायले बेवास्ता गर्दै गएकाले परीक्षण घट्दै गएको हो। १२ सय क्षमता रहेको सेती प्रादेशिक धनगढी अस्पतालको प्रयोगशालामा एक साता यता १ सय भन्दा कम नमुना मात्र परीक्षण भैरहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। ‘नमुना नै संकलन कम भएकाले परीक्षण घटेको हो’ उनले भने, ‘नमुना नै संकलन नभएकाले शुक्रवार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एउटा पनि परीक्षण भएन।’ यसैगरि बिहिवार ६७, बुधवार ९५ र मंगलवार ८७ मात्र नमुना परीक्षण भएको उनले बताए। धनगढी प्रयोगशालामा दिनको १२ सयसम्म नमुना परीक्षण गरिएको प्रयोगशाला प्रमुख रमेश शाहीले बताए। ‘१२ नमुना पनि परीक्षण गरेका थियौं, नमुनाको चाप भएर स्टक राख्नु पर्थ्यो, २५ सय नमुनासम्म स्टक रहेको उदाहरण छ’उनले भने,‘अहिले नमुना नै नआएर परीक्षण घटेको छ।’

पहिले जनस्वास्थ्य कार्यालय, स्थानीय निकाय लगायतकाले नमुना संकलन गर्थे भने अहिले नमुना संकलन गर्नतिर कम ध्यान दिएको बुझिएको छ। ‘पहिले स्वास्थ्य कार्यालय र स्थानीय तहले नमुनाहरु संकलन गरेर जाँचका लागि पठाउँथे’ श्रेष्ठले भने, ‘अहिले नमुना संकलन नै धेरै कम भैरहेकाले कुनै दिनमा एक पनि परीक्षण नहुने अवस्था भएको छ।’ लक्षण नदेखिँदासम्म कन्ट्रयाक्ट ट्रेसिङमा परेकाको समेत नमुना संकलन भैरहेको छैन।

एक महिना अघिसम्म सेतीमा दैनिक औषत ५–६ सय नमुना जाँच हुने गरेको थियो। स्वास्थ्य कार्यालय र स्थानीय तहहरुबाट नमुना आउन छोडेपछि अस्पतालमा परीक्षण घटेको हो।

यसैगरि अन्य प्रयोगशालमा पनि नमुना संकलन नहुँदा परीक्षण ह्वात्तै घटेको छ। स्थानीय तहबाट नमुना आउन छाडेपछि डडेल्धुरा अस्पतालको प्रयोगशालामा पनि कोरोनाको परीक्षण घटेको अस्पतालका ल्याब इन्चार्ज इश्वरी भुसालले बताए।

दार्चुला, बझाङ तथा डडेल्धुराको सीमासँग जोडिएका बैतडीका स्थानीय तहले नमुना संकलन गरेर परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाउने गरेका छन्। सुदूरपश्चिममा कैलाली, डोटी, डडेल्धुरा, अछाम, बझाङ, बैतडीमा पीसीआर विधिबाट कोरोना परीक्षणको सुविधा छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न जिल्लामा रहेका छ वटा प्रयोगशालामा दैनिक पाँच हजार वटा नमुना जाँच्ने सुविधा रहेको मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले बताए। अहिले एक सय–दुई सय नमुनामात्र जाँच भइरहेका उनको भनाई छ। ‘पहिले जस्तो मासमा पिसिआर परीक्षण गर्न छोडिएको छ, लक्षण भएर जाँच गर्न आउनेको संख्या घटेको छ।’ उनले भने, ‘संक्रमणदर घटेकाले पनि परीक्षण घटेको हो।’ 'क्लोज कन्ट्रयाक्टमा आएका र लक्षण भएकालाई मात्र परीक्षण गर्ने सरकारको गाईडलाईनका कारण पनि परीक्षण घटेको उनी बताउँछन्।

सेती प्रादेशिक अस्पताल कोरोना उपचार विभाग प्रमुख वरिष्ठ फिजिसियन शेरबहादुर कमरले संक्रमण दर घटेको बताए।‘थौरै जाँच हुदाँ केस कम देखिनु स्वभाविक भएपनि संक्रमण दर पनि घटेको हो’उनले भने। संक्रमण दर घटेपनि जोखिम कायमै रहेको उनको भनाई छ।  

बिज्ञ तथा वरिष्ठ फिजिसियन शुभेस राज कायस्थ भने  परीक्षण एकदम कम भएकाले कोरोनाको संक्रमण दर घटेको भन्न नमिल्ने बताउछन। ‘परीक्षण एकदम कम छ, संक्रमण दर घटेको भन्न मिलेन’उनले भने,‘परीक्षण नै न्युन भएकाले संक्रमण दर घटेको वा बढेको के हो अन्यौल नै छ।’ समुदायमा जोखिम कायमै रहेको भन्नेमा दुवैको एउटै भनाई छ।‘जोखिम कायमै छ,सवैले सावधानी अपनाउनु जरुरी छ’उनले भने।

सर्वसाधारणमा त्रास हट्दा मास्क लगाउन, सेनिटाईजर प्रयोग गर्न छोडेका छन भने भिडभाडमा जान थालेका छन। पछिल्लो समयमा बिरोध जुलुस, सभामा हजारौंको सहभागिताले कोराना संक्रमणको जोखिम बढेको छ।

सुदूरपश्चिममा अहिलेसम्म १३ हजा ८ सय ८३ जना संक्रमित छन भने १६ सय ९० सक्रिय संक्रमित छन्। सुदूरपश्चिम प्रदेशमा मात्र ५४ जनाको मृत्यु भएको छ। यस क्षेत्रवाट अन्य उपचार गर्न गएका बेला मृत्यु भएकाको संख्या जोड्दा ७७ जना भन्दा बढीको मृत्यु भैसकेको छ।  

 

 

 

प्रकाशित: २ माघ २०७७ ०८:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App