समाज

लोमान्थाङको तापक्रम माइनस १६ डिग्री

मनाङमा पनि उत्तिकै चिसो

हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङ । तस्बिरः नागरिक

हिमाली भेगमा चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङको माथिल्लो भेगमा ह्वात्तै चिसो बढेको त्यहाँका स्थानीयले बताएका छन् ।

मुस्ताङको माथिल्लो भेग लोमान्थाङको तापक्रम माइनस १६ डिग्रीमा झरेको स्थानीय व्यवसायी छेवाङ गुरुङले बताए । उनका अनुसार सोमबार बिहानैदेखि अधिक चिसो बढेको छ । चिसो हावाले जनजीवन समेत प्रभावित भएको उनले बताए ।  

‘हिउँ त परेको छैन, तर, अधिक चिसोले हिडडुल नै कठिन छ,’ उनले भने, ‘तरपनि स्थानीयबासि नजिकका दुरीसम्म हिडडुल गरिरहेका छन् । तर टाढाको दुरीसम्म हिडडुल भने भएको छैन ।’ घरबाहिर निस्केका गाउँलेले पनि बाक्लो कपडा लगाएका छन् । ‘हिडडुल नै गरेन भने झनै अप्ठेरो हुने भन्दै स्थानीय गाउँ आसपासका डुल्ने गरेको उनले बताए ।  उनका अनुसार लोमान्थाङ क्षेत्रमा पानी पनि उत्तिकै जमेको छ । धारामा पानी आउन छाडेको उनले बताए । ‘घरभित्र भाडामा राखेको पानी त जमेको छैन । तर बाहिर त जमेको छ,’ उनले भने ।  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन (एक्याप)का जोमसोमस्थित प्रमुख तुलसी दाहालका अनुसार सदरमुकामको तापक्रम अहिले ५ डिग्री छ । तर रातीमा माइनस ८ डिग्रीसम्म ओर्लिने गर्छ । ‘लोमान्थाङ क्षेत्रको बसोबास बढी कठिनपूर्ण बनेको छ,’ उनले भने, ‘पानी जम्दा बढी कठिन छ ।’ उनका अनुसार सदरमुकाम जोमसोममा पनि बिहान ९ बजेसम्म पानी जमेको हुन्छ । 

‘ट्यांकीको धाराबाट पानी झर्दैन, खोलाको पानी संकलन गरेर धेरैतिर पिउने हो,’ उनले भने, ‘घरभित्र भाडामा संकलित पानी तताएर मात्र प्रयोग गर्नुपर्ने अवस्था छ ।’ कोरोनाको संक्रमणका कारण यो पटक धेरै गाउँले घरमै रोकिएका छन् । गाउँमा रहेका उनीहरुलाई पानीको सकस भएको उनले बताए । अघिल्ला वर्ष चिसो छल्न सहर झर्ने गाउँले अहिले कोरोनाको डरले गाउँमै रोकिँदा पनि चिसोको मारमा परेको उनले बताए ।  

अर्काे हिमाली जिल्ला मनाङको माथिल्लो भेगको अवस्था पनि कठिनपूर्ण बनेको छ । मनाङको माथिल्लो भेगमा भने मध्यान्हपछि हिउँ पर्न थालेको छ । मनाङ ङिस्याङ गाउँपालिकाका कर्मचारी चुडाराज खनालले पनि तापक्रम घटेर रातीमा माइनस १५ मा झरेको जानकारी दिए । ‘डाँडाकाँडामा हिमपात सुरु भएको छ । चिसो पनि अधिक नै छ,’ खनालले भने, ‘पानी पनि जमेको छ । धारामा पानी आउँदैन, भाँडामा पानी भरेर राख्नुपर्छ ।’

एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले ४ हजार मिटर माथि हिउँ परिरहेको बताए । ‘दिउँसो पनि तापक्रम माइनस ३ मा झरेको छ । राती त माइनस १५ डिग्री हुन्छ,’ गौतमले भने, ‘अधिक चिसोले गर्दा पानी पाउन पनि सकस छ । सबैतिर पानी जम्दा दैनिकी नै कठिनपूर्ण बनेको छ ।’ 

प्रकाशित: २० पुस २०७७ ०७:४० सोमबार

मनाङ–मुस्ताङ तापक्रम