समाज

काठमाडौंका मुख्य सडकमा २ हजार आधुनिक बत्ती जडान हुँदै

काठमाडौंका मुख्य सडकमा दुई हजार आधुनिक सडक बत्ती जडान हुने भएको छ। सडक विभाग, काठमाडौं महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच विहीबार १७ करोड लागतमा दुई हजार आधुनिक खालका सडक बत्ती बाल्ने  सहमतिपत्रमा हस्ताक्षर भएको छ।  

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको उपस्थितिमा विहीबार तीनै पक्षबीच  सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमतिपत्रमा काठमाडौँ महानगरपालिकाका तर्फबाट प्रमु्ख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्यूत प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य र सडक विभागको तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकी लगायतका क्षेत्रमा करीब १७ करोडको लगानीमा २ हजार आधुनिक बत्ती जडानको कार्य अघि बढ्नेछ। मन्त्री नेम्बाङ्गले संघीय राजधानी समेत रहेको काठमाडौँ महानगर क्षेत्रलाई व्यवस्थित र उज्यालो महानगर बनाउने र उज्यालो संघीय राजधानीको चिनारी दिने अभियान अन्तर्गत यो योजना अघि बढेको बताए।  

‘संघीय राजधानी समेत रहेको काठमाडौँ महानगरलाई व्यवस्थित ढंगले उज्यालो महानगर बनाउने अभियानलाई मूर्तरुप प्रदान गर्न काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच विहीबार हस्ताक्षर भएको छ,’ उनले भने ‘आर्थिक वर्ष भित्रै सम्पन्न गर्ने गरी यो परियोजना सफल बनाउने गरी लाग्नुहोला।’  मन्त्री नेम्बाङ्गले मन्त्रालय धुलोरहित, हिलोरहित काठमाडौँ बनाउने अभियानमा यस अघिदेखि नै सक्रिय रहेको भन्दै काठमाडौँ महानगरपालिकाको पहलमा उज्यालो काठमाडौँ महानगर बनाउने अभियानलाई सफल बनाउन सबैले हातेमालो गर्न आवश्यक रहेको पनि बताए।  

काठमाडौँ महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले धेरै पटकको प्रयासपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने चरणसम्म आइपुगेको भन्दै अब जतिसक्दो छिटो काम सम्पन्न गर्नेतर्फ केन्द्रित हुन आग्रह  गरे। ‘यातायात व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षा लगायतका सेवा सुविधाहरुलाई चुस्त दुरुस्त राख्न सडक बत्ती व्यवस्थापन गर्न अपरिहार्य छ,’ उनले भने ‘सहरी सौन्दर्य अभिवृद्धि गर्न काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकहरुमा आधुनिक सडक बत्ती जडान गर्न उपलब्ध श्रोत साधन तथा प्रविधिको अधिकतम प्रयोग गरी बत्ती जडान कार्य सीघ्र शुरु गर्ने र आवश्यकता अनुसार निरन्तर विस्तार गर्दै आपसि समन्वय, सहकार्य र एकरुपता कायम गर्न काठमाडौं महानगरपालिका तयार छ।’  

सहमतिपत्रमा काठमाडौं महानगरपालिका, क्षेत्रभित्रका मुख्य मुख्य सडकहरुमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा गर्ने र लगानीको अनुपात काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ। त्यसैगरी चालु आ.व.मा नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानीको लागी आवश्यक रकम काठमाडौं महानगरपालिकाले उपलव्ध गराउने र उक्त रकम आगामी कार्यक्रममा नेपाल विद्युत प्राधिकरणले गर्ने लगानीमा समायोजन गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ।  

‘यस कार्यका लागि लागत अनुमान तयार गर्ने, प्रविधिको छनौट गर्ने, खरिद कार्य गर्ने तथा  निर्माण कार्यको सुपरिवेक्षण गर्ने लगायतका कार्य नेपाल विद्युत प्राधिकरणले गर्ने। यस आयोजनाको निर्माण कार्य पश्चात  मर्मत गर्नुपर्ने सडक, फुटपाथ लगायतको मर्मत कार्य सडक विभागले गर्ने,’सहमतिपत्रमा भनिएको छ,’सडक विस्तार हुन सक्ने वा विस्तारका योजना भएका सडक लगायत आवश्यकता अनुसारको सडकमा पोल राख्ने स्थानको अनुमति सडक विभागले दिने।’  

सडक वत्ती जडान, सञ्चालन लगायतका विषयमा समन्वय, अनुगमन तथा रिपोर्टिङ गर्न तीनवटै कार्यालयका प्रतिनिधि सम्मिलित हालको संयन्त्रलाई निरन्तरता दिने, सोही संयन्त्रले सडक बत्तीहरुको सम्भाव्य विस्तार स्थलहरुको पहिचान, अध्ययन गरी ४५ दिन भित्र प्रतिवेदन पेश गर्ने, नयाँ सडक बत्तीहरुको जडान पश्चात जगेडा हुने सोलार प्यानल लगायत सामानहरुको जगेर्ना गर्दै  पुर्नप्रयोगको  व्यवस्था गर्र्ने लगायतका कुरा पनि सहमतिपत्रमा उल्लेख गरिएको छ।  

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: २५ मंसिर २०७७ ११:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App