समाज

पश्चिमी वायुले देशभर चिसो

पश्चिमी वायुको प्रभावको कारण बुधबार बिहानदेखि देशभर चिसो बढेको छ। मौसमवीद्हरूले बिहीबारसम्म चिसो बढ्ने र शुक्रबारदेखि मौसम सफा हुने बताएका छन्। बिहीबारसम्म हल्का वर्षा हुने र हिमाली भागमा हिमपात हुनसक्ने मौसमवीद्को अनुमान छ। मौसम पूर्वानमान महाशाखाले प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुनुका साथै पहाडी भु–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

देशका धेरै स्थानको तापक्रममा गिरावट आउनुको साथै तराई भु–भागमा बिहान वायुको पारदर्शितामा कमी हुन सक्ने मौसमवीद्को भनाइ छ। मौसमवीद् समिर श्रेष्ठले शुक्रबारदेखि मौसम सफा हुने बताए। उनले भने, ‘बिहीबारसम्म चिसो बढ्ने र बदली लाग्ने सम्भावना छ। शुक्रबारदेखि मौसम खुल्छ।’

मौसम खुलेपछि देशभर तापक्रम हल्का बढ्ने उनको अनुमान छ। मंगलबारभन्दा बुधबार काठमाडौंको अधिकतम तापक्रममा केही गिरावट आएको महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार बिहीबार देशका पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली भई बाँकि स्थानमा आंशिक बदली रहनेछ।

यसैगरी बिहीबार राति देशका पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भु–भागमा आंशिक बदली रहनेछ। यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भु–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार बाग्मती प्रदेश, प्रदेश २ र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकि प्रदेशका पहाडी भुभागमा आंशिक बदली हुने छ। अन्य भु–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। शुक्रबार राति उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: ११ मंसिर २०७७ ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App