समाज

भारत लगेर वृद्धामाथि करणी गरेको आरोप

उपचार सहयोगीको बहानामा भारत लगेर वृद्धामाथि जवरजस्ती करणी गरेको आरोपमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ।  

पक्राउ पर्नेमा लमजुङको बेँसिशहर घर भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ बस्ने चन्द्रबहादुर अधिकारी रहेको ब्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ। श्रीमतीको उपचारका लागि भारत लैजानुपर्ने भएकाले उनको हेरचाहका लागि भन्दै लगेर वृद्धालाई यौन शोषण र करणी गरेको निवेदनका आधारमा पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए। यसअघि वृद्धालाई उनले घरेलु कामदारका रुपमा राख्दै आएका थिए।

घटना गत साल पुसको हो। उनले वीरगञ्जको रक्सौलहुँदै कोलकाता पु¥याएर यौन शोषण गरी जबरजस्ती करणी गरेको भनी जाहेरी परेको जनाइएको छ। त्यसपछि अधिकारी फरार थिए। सोही निवेदनका आधारमा खोजी अभियानका क्रममा उनलाई चितवनको तोरीखेत भन्ने स्थानमा लुकिछिपी बसेकोे अवस्थामा शनिबार पक्राउ गरी काठमाडौँ ल्याइएको छ। उनको विषयमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। रासस

प्रकाशित: १७ कार्तिक २०७७ १४:०९ सोमबार

वृद्धामाथि करणी आरोप