समाज

'बलात्कारीले पाउने सजाय कम भएन र डियर सरकार ?'

बलात्कारविरुद्ध युवायुवती सडकमा

बलात्कारविरुद्ध वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा निकालेको शान्तिपूर्ण र्‍याली । तस्बिरः नागरिक

पछिल्लो समय बलात्कारका घटना बढ्दै गएपछि त्यसविरुद्ध सुर्खेतका युवायुवतीहरूले शान्तिपूर्ण र्‍याली निकालेका छन्। बलात्कारीलाई कारबाहीको माग गर्दै उनीहरूले शनिबार वीरेन्द्रनगरमा शान्तिपूर्ण र्‍याली निकालेका हुन्।

बलात्कारीले पाउने सजाय कम भएन र डियर सरकार ?, सरकार ! कुर्ची बचाउने लोभमा अपराधी बचाउने कहिलेसम्म ?, जब हामी अरुको लागि बोल्छौं तब हाम्रो लागि पनि कोही बोल्दिन्छ, आऊ मेरो परिपुरक हौँ। हातेमालो गरेर एक अर्काे युद्ध आरम्भ गरौं। बलात्कारविरुद्धजस्ता प्लेकार्ड बोकेर शनिबार वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा शान्तिपूर्ण र्‍याली निकालेको आन्दोलनको नेतृत्व गरेकी दीपा आचार्यले बताइन्।

‘पछिल्लो समय घरबाटै बालिका तथा किशोरी असुरक्षित छिन्,’ उनले भनिन्, ‘जसका विरुद्ध हामी सबै बोल्नुपर्छ ।’ दिनानुदिन बलात्कारका घटना घट्दै गए पनि सरकार भने गम्भीर नभएको उनले आरोप लगाइन्। दोषीहरू खुलेआम हिँडिरहेको भन्दै उनले भनिन्, ‘कुर्ची टिकाउन सरकारले दोषी देखेपनि नदेखेझैं गरिरहेको छ।’

आफ्नै घर, गाउँ, समाजमा बलात्कार रोक्न सबै एकताबद्ध भएर आवाज उठाउनु पर्ने अर्की सामाजिक अभियन्ता लक्ष्मी खत्रीले बताइन्। उनका अनुसार उक्त र्‍यालीमा सुर्खेतका युवायुवती स्वतस्फूर्त ढंगले सहभागी भएका छन्। र्‍यालीमा सुर्खेत ओमन रोम रिलोडेट, मोटे ग्याङ नेपाल, आरुष क्रियसनलगायतले सहयोग गरेका थिए।

प्रकाशित: २४ आश्विन २०७७ १२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App