समाज

ढोरपाटन बाढीपीडितलाई ४० लाख सहयोग

बाढी,पहिरोको आफन्त गुमाएका, घरबारविहीन भएका बागलुङको ढोरपाटनका पीडितलाई नेपाली कांग्रेसले करिब ४० लाख रुपैयाँ बराबरको राहात वितरण गरेको छ। नेपाली कांग्रेस क्षेत्र नं २ बागलुङले ढोरपाटन नगरपालिका वडा नं ५, ७, ८, ९ बोबाङका पीडित परिवारलाई सोमबार नगद, खाद्यान्न, जस्तापातासहित राहत सामग्री वितरण गरेको हो।

पहिरोमा परेर बेपत्ता तथा मृत्यु भएका ३६ जनाका आफन्तलाई प्रतिपरिवार ७ हजार रुपैयाँका दरले नगद प्रदान गरेको नेपाली कांग्रेस क्षेत्र नं २ बागलुङका क्षेत्रीय सभापति दोर्ण कुँवरले बताए। ‘पार्टी भित्र र शुभेच्छुकबाट जम्मा गरेको ४० लाख रुपैयाँ बराबरको राहात वितरण गरेका छौं,’ सभापति कुँवरले भने, ‘नगद, खाद्य सामग्री र जस्तापाता रहेका छन्।’

तीनजना घाइतेलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिएको छ। बाढी, पहिरोमा परेर घरविहीन भएका ७९ घर परिवारलाई घर बनाउन प्रति परिवार दुई/दुई बण्डल जस्ता पाता, ३०÷३० किलो चामल, पाँच/पाँच किलो चिउरा, एक÷एक बक्स चाउचाउ, विस्कुट,नुन, आटा,तेल, चिनीलगायतका खाद्य सामग्री वितरण गरिएको छ। त्यसैगरी, पहिरोले बगाएर क्षति पुगेका विद्यालय, स्वास्थ्य संस्था जलविद्युत् आयोजनालाई जस्तापाता वितरण गरेको छ।

गत भदौ १७ गते मध्यराति अविरल वर्षासँगै आएको बाढी, पहिरोले ढोरपाटनको बोबाङमा २२ जनाको मृत्यु भएको थियो। १५ जना अझै बेपत्ता छन्। बाढीले एक सय ३१ घरमा क्षति पु-याएको थियो।

प्रकाशित: २० आश्विन २०७७ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App