समाज

डा. केसीको जीवन रक्षा गर’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ। प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति जारी गर्दै डा. केसीसँग अविलम्ब वार्ता गर्न अपिल गरेका छन्। केसीको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग पूरा गर्न कुनै गम्भीरता नदेखाएकोप्रति दुःख व्यक्त गर्दै देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदमलगायतका उहाँका माग केवल एक व्यक्तिका माग होइनन्, प्रतिपक्षले निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक ऐक्यबद्धता जनाएका माग हुन्।’

जनभावना अनुरूपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य भएको जनाउँदै सरकारले सुरूवातमा डा. केसीप्रति दुव्र्यवहारपूर्ण व्यवहार गर्नु आपत्तिजनक भएको उल्लेख गरेका छन्। केसीसँग अहिलेसम्म संवाद र समाधानमा उदासीन व्यवहार देखाउनुलाई देउवाले लोकतान्त्रिक प्रणालीभित्र कम्युनिस्टतन्त्रको अनुदार चरित्र पुष्टि उल्लेख गरेका छन्। ०४६ को परिवर्तनपछि नेपाली कांग्रेसको नीति र नेतृत्वमा नेपालमा चिकित्सा शिक्षाको विस्तार भएको जनाउँदै समयक्रममा कतिपय विसंगति चिकित्सा शिक्षा क्षेत्रमा बढेपछि सुधारका लागि तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले डा. केदारभक्त माथेमाको नेतृत्वमा चिकित्सा शिक्षामा सुधारका लागि उच्चस्तरीय कार्यदल गठन गरेको स्मरण गराएका छन्। ‘डा. केसीका माग पूरा गर्दै मेरो नेतृत्वमा रहेकोे अघिल्लो सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश’ ०७४ कात्तिक २४ मा जारी गरेको थियो। तर वर्तमान सरकारले त्यसलाई विस्थापित गर्नुको परिणाममा आजको स्थिति उब्जिएको हो,’ देउवाले भनेका छन्।

वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा ०७५ को साउनमा डा. केसीसँग गरिएको सम्झौतालाई माघ महिनामा उल्लंघन गरेर द्वन्द्वको बीउ सरकारले त्यसबेला नै रोपेको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, ‘अतः फेरि पनि संवादमार्फत समाधानमा पुगेर त्यसको सार्थक कार्यान्वयनमा इमानदारी प्रस्तुत गर्न म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु।’

यसैगरी, एम्नेस्टी इन्टरनेसनल नेपालले पनि डा. केसीले सत्याग्रहका माध्यमबाट पटकपटक सरकारको ध्यानाकर्षण गराएको छ। सरकार आफैले तत्परता देखाएर सम्झौताका बाँकी विषय कार्यान्वयन गर्नुपर्नेमा आमरण अनशन बसी सरकारको ध्यानाकर्षण गर्नुपर्ने बाध्यता विडम्बनापूर्ण भएको भन्दै जीवन बचाउन माग गरेको हो।

‘डा. केसीसँग सरकारले यसअघि गरेका सम्झौता अनुरूप ती क्षेत्रमा कतिपय सुधारका कार्यक्रम पनि भएका छन्। तर, अझै पनि कतिपय मुद्दामा सरकार आफैंले लिखित प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा उदासीनता देखाउनु कुनै पनि जिम्मेवार सरकारको लागि सुहाउने विषय होइन,’ एम्नेटस्टी नेपालका अध्यक्ष खेमराज रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

केसीलाई टिआइले ‘राष्ट्रिय सदाचार सम्मान’द्वारा सम्मानसमेत गरिसकेको छ। डा. केसीले बृहत्तर राष्ट्रिय हितमा विधि र पद्धतिबारे सशक्त आवाज उठाउने एक इमान्दार, कर्तव्यनिष्ठ, देशभक्त नागरिक भएको भन्दै माग अविलम्ब पूरा गरी जीवन रक्षाका लागि माग गरेको छ।

प्रकाशित: १९ आश्विन २०७७ ०२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App