समाज

‘बरु आँशु लुकाउन मिल्ला तर महिनावारी मिल्दैन’

बागलुङको गलकोट नगरपालिकाले महिलालाई महिनावारीको समयमा आवश्यक पर्ने सेनेटरी प्याड तथा झोला बनाउने तालिम दिएको छ।  

कोरोना कहरका बीच सीमान्तकृत समुदायका महिलालाई भौतिक दूरी कायम गर्दै तालिम दिइएको नगरपालिकाले जनाएको छ।  

आफ्ना लागि आवश्यक प्याड आफैँ उत्पादन गर्ने तथा बिक्रीसमेत गरी आयआर्जन वृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।  

चारदिने तालिममा नगर क्षेत्रका विपन्न र दलित समुदायका १५ महिलाको सहभागिता थियो। ‘महिलासँग उपप्रमुख’ कार्यक्रमअन्तर्गत नगरपालिकाले पँखेटा नेपालको सहयोगमा तालिम सम्पन्न  गरेको हो।

‘सङ्कटमा केही दिन भोक खप्न सकिएला, आँशु लुकाउन मिल्ला तर महिनावारी रोकिँदैन,’ नगरपालिकाकी उपप्रमुख रेणु काउचा मगरले भनिन्, ‘सङ्कटका बेला स्वास्थ्यको झन् ठूलो महत्व हुन्छ भन्ने ठानेर हामीले सुरक्षाका बीच तालिम आयोजना गरेका हौँ।’

उनका अनुसार तालिममा पररम्परागत रूपले सिलाइ पेसामा आबद्ध महिलालाई विशेष प्राथमिकता दिइएको थियो। तालिमका लागि मात्र तालिम नहोस् र त्यसबाट महिलाले व्यावसायिक लाभ पनि लिन सकून् भन्ने हिसाबले तालिमका प्रशिक्षार्थी छनोट गरिएको उनले बताइन्।  

पुस्ताबाटै सिलाइकटाइ सिकेका महिला तालिममा सहभागी हुँदा उत्पादन गुणस्तरीय भएको र बजारको सम्भावना पनि रहेको उनले जानकारी दिइन्।  

‘झोला र प्याड गुणस्तरीय पनि होस् र उपभोग पनि होस् भन्ने सोचले काम गरिएको हो,’ उनले भनिन्, ‘हामी महिला दिदीबहिनीले गरेका उत्पादनको बजारीकरणमा पनि सघाउने पक्षमा छौं।’

तालिमका सहभागीले निकै खुसी व्यक्त गरेका थिए।  

प्रकाशित: ५ आश्विन २०७७ ०९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App