समाज

संचारगृहभित्र प्रवेश गरि पत्रकारमाथि हमला

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीको धनगढी स्थित दिनेश संचार गृहमा शुक्रवार १५, २० जनाको एक समुह प्रवेश गरेर साङ्घातिक आक्रमण गरेको छ । युवाहरुको हुल समाचार कक्षमै प्रवेश गरेर सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि अन्धाधुन्द कुटपिट गरेको सम्पादक नवराज पनेरुले बताएका छन । यसैगरि उक्त समुहले व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेको उनले बताए।

‘शुक्रवार दिउसो १२ बजेतिर एक्कासी १५, २० जनाको समुह संचार गृह भित्र प्रवेश गरेर समाचार कक्षमा पुग्यो । दिनेश खवरमा धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने प्रकाशित समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै उनीहरु एकाएक साघातिक आक्रमणमा उत्रे’व्यवस्थापक कुँवरले भनिन्,‘हामी महिलामाथी पनि  दुव्र्यवहार र हातपात गरे ।’ समाचार कक्षमा कुटपिटवाट पत्रकार बिष्ट घाइते भएका छन । उनको दुवै आखाँमुनी कुटपिटवाट सुन्निएको छ ।‘दुवै हातले टाउको जोगाएकोले बढी चोट लाग्नवाट जोगियो, आखाँमुनीको भाग मात्र सुन्निएको छ’उनले भने,‘एकाएक समाचार कक्षमा आएर म माथी कुटपिट गरेका हुन ।’ एक हुल समाचार कक्षमा प्रवेश गरेर पत्रकारमाथी सामुहिक रुपमा कुटपिट गरिरहेको भिडियो समेत सार्वजनिक भएको छ । कुटपिट गर्ने समुहमा रहेकाले कुटपिट गरेको वेला फेसवुक लाईभ समेत गरेको थियो ।‘संचार गृहमा प्रवेश गरेर पत्रकारलाई सामुहिक रुपमा कुटपिट गरेको फेसवुक लाईभ समेत गरे’प्रवन्ध निर्देशक गोपाल हमालले भने,‘यो भन्दा बढी गुण्डाराज के हुनसक्छ, यो पाराकाष्ठा भो ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा दिनेश खवरले धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार प्रकाशन गरेको उनले बताए । धनगढी उपमहानगरपालिका –१ बाट चोरी मुद्धामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विक शौचालयमा मृत अवस्थामा फेला परेका थिए । उनको हत्या भएको र आत्महत्या भनेर किन समाचार प्रकाशित गरेको भन्दै १५, २० जनाको उदण्ड समुह संचार गृहमा प्रवेश गरेर साँघातिक हमला गरेको हो ।

आक्रमणको चौतर्फी विरोध
गुण्डाराजको झजल्को दिनेगरि १५, २० जनाको उदण्ड जत्था संचार गृह माथी प्रवेश गरि साङ्घातिक हमला गरेको घटनाको चौतर्फी बिरोध भएको छ । राजनीतिक दलका नेता, सासंद, मानवअधिकारवादी, नेपाल पत्रकार महासँघ, पत्रकारका बिभिन्न संगठन लगायत सर्वसधारणले समेत यो घटनाको बिरोध गरेका छन । नेपाल पत्रकार महासँघ प्रदेश समिती, नेपाल पत्रकार महासँघको जिल्ला शाखाले प्रेस बिज्ञप्ती जारी गरि संचार गृह माथी आक्रमण गर्नेलाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गरेको छ ।‘समाचार कक्षमै प्रवेश गरेर पत्रकार माथी कुटपिट भएको यो घटनालाई समग्र प्रेस माथीको घटनाको रुपमा बुझेका छौं’पत्रकार महासँघ प्रदेश समितीका महासचिव योगेश रावलद्वारा जारी बिज्ञप्तीमा भनिएको छ,‘यो घटनामा संलग्न व्यक्तीहरुलाई कारवाहीमा ढिलासुस्ती भए पत्रकार महासँघ शसक्त आन्दोलनमा उत्रने छौं ।’  

सुदूरपश्चिम प्रदेश शभामा नेकपाका प्रमुख सचेतक तारालामा तामाङ घटना लगत्तै दिनेश संचार गृहमा पुगेका थिए । संचार गृहमा प्रवेश गरेर पत्रकारमाथी हातपात हुनु खेदजनक कार्य भएको उल्लेख गर्दै दिनेश एफमा भएको घटनाको उनले विरोध गरेका छन ।‘समाचार सम्प्रेषणको कारण संचार गृहमा आक्रमण हुनु अत्यन्त खेदजनक कार्य र अपराधको पाराकाष्ठा हो’उनले भने,‘यो घटनाको घोर भत्र्सना गर्दछुँ र दोषी माथी कारवाही होस ।’

यसैगरि ईन्सेकका क्षेत्रिय संयोजक खडकराज जोशीले दण्डहिनता मौलाउदै जाँदा अपराध बढ्दै गएको र संचारगृह माथीको आक्रमणले सुरक्षामाथी प्रश्न उठेको बताए । उनले घटनाको बिरोध गर्दै घटनामा संलग्नलाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गरे ।

यसैगरि बिभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, नगारिक समाज, मानवअधिकारवादी र सर्वसधारणले समाजिक सन्जालमा लेखेर घटनाको बिरोध गर्दे दोषीलाई कारवाहीको माग गरेका छन ।

चौतर्फी बिरोध हुदाँ पनि शुक्रवार साँझ सम्म प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरेको छैन । समुहमा चिनिएका प्रमोद खड्का, कुवेर खड्का लगायत नाम सहित उल्लेख गरेर किटानी उजुरी दिइएको सम्पादक पनेरुले बताए । ‘किटानी उजुरी दिदाँ पनि अहिले सम्म कसैलाई पक्राउ गरेको छैन’उनले भने ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले संचारगृह र पत्रकार माथी आक्रमणलाई गंभिर रुपमा लिएको उल्लेख गर्दै घटनामा संलग्नलाई पक्राउ गरेर कारवाही गरिने बताए ।

प्रकाशित: २७ भाद्र २०७७ ०२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App