समाज

बिरामीको मृत्युपछि हस्पिटलका ३ कर्मचारी क्वारेन्टिनमा

अत्यधिक ज्वरो र छाती दुख्ने लक्षण देखिएका बिरामीको मृत्यु भएपछि सदरमुकामस्थित एपोलो हस्पिटल एन्ड ट्रमा सेन्टरका ३ कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ। सन्दकपुर गाउँपालिका १ का १७ वर्षे युवकलाई हस्पिटलले रेफर गरेपछि झापा लैजाँदैगर्दा बाटैमा मृत्यु भएको थियो।  

आइतबार बिहान साढे ११ बजे उपचारका लागि आएका ती युवकलाई केही मिनेटमै यहाँ उपचार नहुने भएपछि झापाको मेची अस्पताल रेफर गरिएको थियो। हस्पिटल सञ्चालक प्रकाश चापागाईंले रेफर गरिएका युवकको उपचारका लागि खटिएका हस्पिटलका ३ कर्मचारीलाई अहिले क्वारेन्टिनमा राखिएको बताए। ‘निधन भएका बिरामीलाई ज्वरो आएको र अक्सिजनको मात्रा निकै कम भएको पाएपछि चिकित्सकले रेफर गरेका थिए,’ चापागाईंले भने, ‘मृत्यु भएका व्यक्तिको कोरोनासँग केही लक्षण मिलेपछि उनको उपचारमा संलग्न कर्मचारीको पिसिआर (पोलिमरेज चेन्ज रियाक्सन)का लागि मात्रै क्वारेन्टिनमा राखिएको हो।’ उनले अस्पतालको सेवा भने नियमित रहेको जानकारी दिए।

इलाम अस्पतालका चिकित्सक डा.प्रभु शाहले मृत्यु भएका व्यक्तिको पिसिआर परीक्षण नहुने बताए। ‘तर, इलाम अस्पतालका कर्मचारीको नियमित पिसिआर टेस्ट गरेका बेला एपोलो हस्पिटलका कर्मचारीको पनि परीक्षण गर्छौं,’ उनले भने, ‘लक्षण कोरोनाको जस्तो थियो भन्नेबित्तिकै कोरोना नै हो भन्न सकिँदैन, मृत्यु भएका व्यक्तिलाई कोरोना थियो भन्ने आशंकाले मात्रै चाहिँ आत्तिनु पनि हुँदैन।’  

सन्दकपुर गाउँपालिकाका ३ र ४ नम्बर वडामा केही दिनअघि समुदायमै कोरोना देखिएको थियो। यहाँका ८ व्यक्तिमा र यहाँ आएर फर्किएको जलविद्युत् आयोजनाको प्राविधिक टोलीमा कोरोना संक्रमण पुष्टि भएको थियो। तर, त्यसपछि कन्ट्रयाक ट्रेसिङका आधारमा गरिएको पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ।

 

प्रकाशित: १४ भाद्र २०७७ १२:२६ आइतबार