समाज

बिपीमा प्लाज्मा थेरापी गरिएका दोस्रो व्यक्तिको मृत्यु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको निधन भएको छ। धरान–१५ निवासी ६७ वर्षीय वृद्धको मध्याह्न सवा १२ बजे निधन भएको प्रतिष्ठानले जनाएको छ। सिकिस्त भएका ती संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार भइहेको थियो भने शुक्रबार राति मात्र उनलाई प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो। ‘उहाँको अवस्था एकदमै सिकिस्त थियो, आज मध्याह्न सवा १२ बजे निधन भएको छ,’ प्रवक्ता डा. निदेश सापकोटाले भने।

मृतकलाई एक सातादेखि अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्वरो आएको थियो। उनी उच्च रक्तचापको दीर्घ रोगी पनि भएको प्रवक्ता डा. सापकोटाले जानकारी दिए। सिकिस्त अवस्था हुँदै गएपछि ३ दिनदेखि प्लाज्मा दाता खोजी गरेर हिजो शुक्रबार राति मृतकलाई प्लाज्मा दिइएको थियो। उनी बिपीमा प्लाज्मा थेरापी उपचार गरिएका दोस्रो संक्रमित व्यक्ति हुन्। यसअघि धरान–८ का एक व्यक्तिलाई पनि प्लाज्मा दिइएको थियो। उनको भने स्वास्थ्य सुधारोन्मुख रहेको बताइएको छ।

प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख एवं प्लाज्मा थेरापी उपचारको लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिका सदस्य प्राडा सञ्जीव शर्माले मृतकको अवस्था गम्भीर भएकै कारण प्लाज्मा थेरापी गरिएको बताए। ‘सामान्य बिरामीलाई प्लाज्मा थेरापी गरिने होइन, सिकिस्त बिरामीलाई नै हो। उहाँ पनि भेन्टिलेटरमा हुनुहुन्थ्यो,’ डा.शर्माले भने, ‘उहाँको निधन भयो।’

मृतकको साउन २७ गते पिसिआर पोजेटिभ रिपोर्ट आएको थियो। उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो। मृतकको शव व्यवस्थापन प्रोटोकल अनुसार गर्ने तयारी भइरहेको प्रवक्ता डा. सापकोटाले जानकारी दिए। धरानमा कोरोना संक्रमण पुष्टि भएको व्यक्तिको यो दोस्रो मृत्यु हो। यसअघि पनि धरान–१५ की कोरोना पोजेटिभ वृद्धाको पनि मृत्यु भएको थियो।

प्रकाशित: ७ भाद्र २०७७ ०१:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App