समाज

इलामको समुदायमै पुग्यो कोरोना

इलामको समुदायमै कोरोना संक्रमण फैलिन थालेको छ। क्वारेन्टिनमा राखिएका व्यक्ति, सुरक्षा गण हुँदै समुदायस्तरमै कोरोना पुष्टि भएको हो। जिल्लाको सन्दकपुर गाउँपालिका–४, माबुका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

साउन तेस्रो साता यहाँका ५० जनाको पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण गर्दा १ जनप्रतिनिधिसहित स्थानीय जलविद्युत आयोजनाका ३ कर्मचारीमा कोरोना देखिएको थियो। त्यसपछि २७ र पुनः १ सय २७ स्थानीयको स्वाब संकलन गरी पठाइएकामा शुक्रबार ४ जनामा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाले जनाएको छ।  

संक्रमित हुनेमा यसअघि संक्रमित भएका जलविद्युतका कर्मचारीका परिवार र वडा ३ का अर्का युवक रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए। ‘शनिबार पुनः अन्य स्थानीयको पिसिआर नमुना लिइँदैछ,’ उनले भने, ‘संक्रमण फैलिएको स्थानलाई जोखिमपूर्ण मानेर झन्डै २ सातायता लकडाउन गरिएको छ।’

सन्दकपुरको वडा २ र ४ को बीच माइखोलास्थित अप्परमाई जलविद्युत आयोजनामा आएर फर्केको मर्मत टोलीलाई साउन २१ गते काठमाडौंमा कोरोना पुष्टि भएको थियो। उनीहरू यहाँ आउँदा बसेको होटलसहित समुदायमै कोरोना संक्रमण हुने जोखिम बढेपछि पालिकामा लकडाउन गरिएको छ भने गाउँ छिर्ने नाका ‘सिल’ गरिएको छ।  

इलामस्थित स्वास्थ्य कार्यालयले जिल्लामा कोरोना संक्रमण समुदायमै पुगेको जनाएको छ। कार्यालयका कोभिड–१९ फोकल पर्सन विमल बरालले सन्दकपुरमा पुष्टि भएको संक्रमणबाट समुदायमै कोरोना पुगेको पुष्टि भएको बताए। यसअघि विदेशबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति, सशस्त्र, जनपद प्रहरी, नेपाली सेना र इलाम नगरपालिकाका कर्मचारीमा कोरोना पुष्टि भएको थियो। जिल्लामा कोरोना पुष्टि हुनेको संख्या ८६ पुगेको छ भने ५५ जना डिस्चार्ज भइ घर फर्केका छन्।

प्रकाशित: ५ भाद्र २०७७ १०:११ शुक्रबार