समाज

बैतडीको दशरथचन्द नगरपालिकामा लकडाउन

बैतडीको दशरथचन्द नगरपालिकामा भदौ ४ गतेदेखि लकडाउन गरिने भएको छ । कोरोनाको संक्रमण बढ्दै गएको भन्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएकाले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

भदौ ४ गतेदेखि भदौ १५ गतेसम्म औषधि पसल, एम्बुलेन्स र अत्यावश्यक सवारी साधन मात्रै नगर क्षेत्रभित्र सञ्चालन गर्न दिने निर्णय भएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए । यस्तै नगर क्षेत्रभित्रका बैंकहरुलाई आइतबार, मंगलबार र बिहीबार हप्ताको तीनदिन मात्रै खुल्ला राख्ने निर्णय गरिएको छ । यसैगरी गौरापर्वलाई मध्यनजर गरी दैनिक उपभोग्य सामग्रीका पसल, सिलाइ पसल र कपडा पसलहरुल बिहान ७ देखि १० बजे सम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म मात्रै खुल्ला राख्ने निर्णय गरिएको छ ।

धार्मिक स्थलहरुलमा नित्यपूजा बाहेक भिडभाड हुने खालका सबै जात्रा, मेला स्थगित गरिएका छन् भने चाडपर्वहरु आफ्नै घरभित्रै मनाउन आग्रह गरिएको छ । नगर क्षेत्रभित्र सबै प्रकारका भेला, गोष्ठी, तालिम, बैठक र सेमीनारहरुमा रोक लगाइएको नगरपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ । यस्तै नगरपालिका र ११ ओटै वडा कार्यालयहरुले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने समेत सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित: ३२ श्रावण २०७७ १६:०२ आइतबार

लकडाउन