समाज

बर्दिया प्रशासनद्धारा तेस्रो निषेधाज्ञा जारी

स्थानीय प्रशासन कोरोना संक्रमण नियन्त्रण गर्न तेस्रो निषेधाज्ञा जारी गरेको छ। पहिलो चरणमा साउन २५ गते २९ सम्म गरेको निषेधाज्ञा बढाएर आईतबारसम्म जारी गरेको थियो। आईतबार बसेको बैठकले भदौ ५ गते सम्म निषेधाज्ञा बढाएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए। ‘समुदायमा स्तरमा कोरोना संक्रमण फैलने त्रास भयो,’ उनले भने, ‘कोरोना संक्रमित संख्या बढेकाले निषेधाज्ञाको विकल्प भएन।’  

प्रमुख जिल्ला अधिकारी अधिकारीले जारी गरेको आदेशअनुसार भदौ ५ गते राति १२ बजेसम्म विभिन्न गतिविधिमा रोक लगाइएको छ। जारी आदेशअनुसार खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न र सभा जुलुस गर्न नपाइने उल्लेख छ।

स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरू गर्न, चाडपर्वलगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघट गर्न नपाइने उनले बताए।  उनका अनुसार शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, शैलून, ब्युटी पार्लर, जिमखना, समूहमा खेलिने खेलकूद संचालन गर्न पाइनेछैन।

प्रकाशित: ३२ श्रावण २०७७ १२:३६ आइतबार

निषेधाज्ञा