समाज

सेटिङमै हुसेनको जेलयात्रा, हुन्डीवाला अग्रवाल फरार

नक्कली सुन प्रकरण

भारतीय नक्कली नोट तस्करी प्रकरणमा थुनामा रहेका युनुस अन्सारीका व्यापारिक साझेदार इल्ताफ हुसेन सेटिङमै पक्राउ परी जेल बस्न नक्कली सुनकाण्डमा मुछिएका छन्। जेलबाहिर रहँदा भारतीय सुरक्षा अधिकारी र आपराधिक समूहबाट धम्की आएपछि नक्कली सुनकाण्डको योजना बनाई प्रहरीलाई सुराकी दिन लगाई हुेसेन पक्राउ परेका हुन्। प्रहरी उच्च स्रोतका अनुसार पाकिस्तानमा रहेका हुसेन लकडाउनअघि नेपाल आएका हुन्। त्यसअघि पनि सुनको कारोबार गर्ने गरेको सुइँको भारतीय आपराधिक समूह र सुरक्षाकर्मी दुवैले पाएपछि उनलाई आफूमाथि सुरक्षा थ्रेट भएको महसुस भएको जनाइएको छ।

भारतीय अर्थतन्त्रमा असर पार्ने काममा सहयोग गरेको भन्दै धेरै पहिलेदेखि उनी भारतीय सुरक्षाकर्मीको निगरानीमा थिए। ‘जतिबेला उनले भारतीय नक्कली नोटको कारोबार गरिरहेका थिए, त्यतिबेला नै भारतीय सुरक्षाकर्मीको नोटिसमा थिए,’ नेपाल प्रहरीका उच्च अधिकारीले भने, ‘अहिलेको सुराकीको तह हेर्दा जवानहरूको प्रयोग गरिएको छ। जवानको तहमा सुराकी आएको छ। सुराकी दिने पक्ष पनि शंकास्पद छ। कोहीकसैबाट परिचालित हो कि भन्ने आशंका छ। हामी अनुसन्धान गरिरहेका छौं।’

ती अधिकारीका अनुसार जाली नोटको कारोबार होस् वा सुनको कारोबार, एउटै समूहले मात्र तस्करी गर्दैन, हुसेनको समूह सुन तस्करीमा भर्खरभर्खर लागेको देखिन्छ। किनभने, उनीहरूले प्रयोग गर्ने गरेको कोठामा एउटा ठूलो लकर छ, जुन बैंकहरूमा हुनेभन्दा ठूलो छ। ‘त्यसैले उनीहरू सुन तस्करीमा सिकारु हुन् भन्न कठिन छैन तर हुसेन आफूले मात्रै चाँदीमा सुनको जलप लगायो भन्नेबारे भने किटानी गर्न सकिँदैन,’ स्रोतले भन्यो, ‘यसलाई अरू कसैले फसाएको वा आफंै असुरक्षित महसुस गरेर उनले जेलको यात्रा तय गरेको हुनुपर्छ।’

पर्सा प्रहरीको सहयोगमा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेर काठमाडौं ल्याएपछि हुनेनले सामान र हतियार दुवै आफ्नो नभएको बयान दिएका छन्। उनले त्यसबारे सबै भारतीय नागरिक सञ्जय पटेललाई थाहा भएको र आफूले गाडी मात्रै दिएको बताएका छन्। सञ्जय को हुन् भन्नेबारे प्रहरीले केही बताउन चाहेको छैन। एक वर्षअघि नै सञ्जय र इल्ताफबीच चिनजान भएको थियो। तर उनले कौशल पटेल र देवान पटेललाई भने नचिन्ने बताएका छन्। निलेश सखियासँग भने भर्खरै चिनजान भएको उनको भनाइ छ। भारत गुजरात घर भएका सञ्जय पटकपटक नेपाल आउने गरेका थिए। नेपाल आएदेखि नै उनी हुसेनको सम्पर्कमा थिए।

सुनमा जलप लगाउने पैसा पनि सञ्जयमार्फत नै आएको प्रहरीको दाबी छ। ‘सञ्जयले हुन्डीमार्फत आएको पैसा प्राप्त गरेको बयान छ। हुन्डीको कारोबार भने विकास अग्रवालले गरेको देखिन्छ तर उनी बिरामी भएको बहानामा भारतमा छन्। सञ्जयबारे पनि उनलाई थाहा छ,’ प्रहरी उच्च स्रोतले भन्यो। अग्रवालले सञ्चालन गरेको हुन्डीमार्फत आएको रकम सञ्जयले बुझ्ने गरेका थिए। गत असारमा प्रहरी जवान धिरेन विष्ट र विक्रम चन्दले उनै अग्रवालसँग हुन्डीको पैसा लुटपाट गरेका थिए। तिनीहरू अहिले फरार छन्। प्रहरी स्रोतका अनुसार अग्रवालका मुख्य ग्राहक सञ्जय थिए। सञ्जयले ल्याएको पैसा निलेश, देवान र कौशलले सुनको जलप लगाउन प्रयोग गरेका थिए।

भारतमा दाउद इब्राहिमको ग्याङलाई खतम गर्न छोटा राजन र बब्लु श्रीवास्तवका ग्याङ अहिले पनि परिचालित छन्। बब्लु जेलमै भए पनि सरकारी सुरक्षा संयन्त्रले सुराकीका लागि पटकपटक प्रयोग गर्दै आएको छ। ‘निश्चित लेबलको सूचना लिएर दाउदको ग्याङलाई समाप्त पार्ने र इल्ताफ हुसेन पनि युनुस अन्सारी हुँदै दाउदसँग जोडिएको व्यक्ति भएकाले भारतीय पक्षले उनलाई सकेसम्म सफाया गर्ने नभए पनि कुनै न कुनै रूपमा निष्क्रिय बनाउने खेलमा लागेको नेपाल प्रहरीको विशेष ब्युरो स्रोतको दाबी छ।

भारतीय नक्कली नोटसँग जोडिएपछि उनीहरू दाउदसम्म पुगेका हुन्। नेपालको बाटो प्रयोग गरेर नक्कली नोट मात्रै होइन, सुन तस्करीमा समेत संलग्न भएको थाहा पाएपछि उनीहरूले इन्काउन्टर गर्न नसकेर हुसेनलाई जेल पठाउने योजना बनाएको हुन सक्ने भन्दै सञ्जयलाई भारतीय गुप्तचरले प्रयोग गरेको आशंका पनि नेपाल प्रहरीको छ। महानगरीय प्रहरी प्रभाग काठमाडौं परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले इल्ताफको कनेक्सन खोज्ने काम विशेष ब्युरोको भएको दाबी गरे। ‘हामीले मान्छे पक्राउ गरेर मान्छेलाई मुद्दा चलाउने हो, अहिले त्यही काम गरिरहेका छौं,’ एसएसपी ज्ञवालीले भने।

हुसेन नक्खु जेलमा रहेकै बेला बाहिर निस्किए सुरक्षा नहुने भन्दै जेलमै बस्न पाए हुन्थ्यो भन्ने चाहना व्यक्त गर्ने गरेको स्रोतको भनाइ छ। उनी जेलबाट छुटेपछि पनि कहिले पाकिस्तान र कहिले नेपाल बस्दै आएका थिए। आर्थिक रूपमा अत्यन्तै सबल रहेका हुसेनको सम्पत्ति छानबिनमा पनि प्रहरी लागेको छ। प्रहरी उच्च स्रोतका अनुसार हुसेनले अन्सारीकै योजनाबमोजिम नेपालका विभिन्न नाकाबाट भारततर्फ सुन तस्करीमा सहयोग गर्ने गरेका थिए। तर यो योजनामा हुसेन र अन्सारीका बीचमा खटपट भयो भन्ने आशंका प्रहरीको छ।

नेपालमा आएको पैसा हुन्डी सञ्चालक अग्रवालले सञ्जयलाई दिने गरेका थिए। अहिले अग्रवाल फरार भए पनि प्रहरीले उनलाई फरार सूचीमा राखेको छैन। देवन र कौशलले पैसा हुन्डीमार्फत आउने र अग्रवालमार्फत लिने गरेको बयान दिइसकेको भए पनि प्रहरीले अग्रवाललाई किन फरार सूचीमा राखेको छैन भन्ने प्रश्न उठेको छ। हुन्डीलाई आर्थिक अपराधका रूपमा लिइन्छ। कानुनी बाटो हुँदाहुँदै गैरकानुनी ढंगले पैसा ल्याउन र अवैध कर्ममा प्रयोग गर्ने काम बन्द नभएसम्म अपराध बढिरहने भएकाले हुन्डीको नियन्त्रण आवश्यक रहेको भन्दै प्रहरीको एउटा पक्षले अग्रवाललाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने जनाइरहेको छ। ‘उनीहरू सुरुसुरुमै रहेछन्, मुस्किलले दुईपटक भारततर्फ सुन तस्करी गरेको देखिन्छ। यसपटक पनि नक्कली सुन प्रहरीलाई देखाएर सक्कली सुन भारततर्फ लगेको भन्ने हाम्रो शंका छ,’ प्रहरी स्रोतले भन्यो, ‘किनकि उनीहरूले सामान राख्ने लकर हेर्दा त्यहाँ भण्डार गर्ने गरेको बुझिन्छ भने अर्कोतर्फ हुसेन आफैं संलग्न भएकाले त्यहाँ भण्डारण गरेर ससाना समूहलाई परिचालन गर्ने गरेको आशंका पनि छ।’

यो विषयमा विशेष ब्युरो र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अन्सारी–हुसेन तथा भारतीय अपराधीहरूको कनेक्सनबारे अनुसन्धान गरिरहेको छ। प्रहरीको विशेष ब्युरोले भारतीय व्यापारी र तस्करहरूसँग उनीहरूको सम्पर्क–सम्बन्धबारे पनि अनुसन्धान गरिरहेको छ। ‘हामीले अन्सारी–हुसेन कनेक्सन देखिएपछि भारततर्फको नेटवर्कबारे हेरिरहेका छौं,’ सिआइबीका एक अधिकारीले भने, ‘सञ्जय भन्ने व्यक्ति फरार छन्। हुन्डी र सुन तथा अन्य कारोबारबारे अरूले उसकै टाउकामा खन्याएको देखिन्छ। त्यसबारे पनि अनुसन्धान हुँदैछ,’ सिआइबीका एक अधिकारीले भने।

इल्ताफले भारतीय नक्कली नोटको कारोबार गरेरै करोडौं मूल्यको घर, जग्गा र गाडी जोडेका थिए। प्रहरी स्रोतका अनुसार पाँच वर्षअगाडि उनले किनेको बा६च ५५१९ नम्बरको स्कार्पियो गाडी यसपटक नक्कली सुन बोक्न प्रयोग भएको थियो। प्रहरीले सो गाडी बरामद गरिसकेको छ। जेलमा रहेका अन्सारीसँग हुसेनको पारिवारिक सम्बन्ध रहेको देखिन्छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बनाएको अनुसन्धान समितिले पनि उनीहरूको सम्बन्ध पारिवारिकजस्तै रहेको निष्कर्ष निकालेको छ। ‘हुसेनलाई अन्सारीकी श्रीमतीले देवर बाबु भन्ने गरेको, बाराबाट आउँदा नखिपोटतिरै बस्ने गरेको तथा योजनाबद्ध ढंगले कोठा लिएको पाइयो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘पाकिस्तान आउजाउ गरिरहेका रहेछन्। चाँदीमा सुनको जलप लाउन पनि ५८ लाख खर्च गरेको देखिन्छ। चाँदीको बेग्लै पैसा छ। यति धेरै नक्कली सुन बनाउन मात्रै किन खर्च गरे ? उनी आफैं मात्रै यो प्रकरणमा संलग्न छैनन् भन्ने यसबाट पनि पुष्टि हुन्छ,’ ती प्रहरी अधिकारीले भने। उनका अनुसार पैसा अरूले नै व्यवस्थापन गरेको हो तर यत्रो धेरै पैसा किन खर्च गरियो अनुसन्धानको पाटो यता पनि हुनुपर्छ।

नेपाल–भारत सीमा नाकामा हुर्केका हुसेनले वीरगन्जबाट सानैदेखि तस्करीको काम गरेका कारण अन्सारीले पटकपटक प्रयोग गर्दै आएका थिए। हुसेन वीरगन्ज बसेर पाकिस्तानबाट आएको नक्कली नोटलाई भारतीय तस्करसम्म सहजै पु¥याउन सक्ने अन्सारीका एक मात्र विश्वासपात्र हुन्। २०७२ जेठ ३० गते भारतीय नक्कली नोट कारोबारको अभियोगमा सातदोबाटोबाट पक्राउ परेपछि उनी पाँच वर्ष जेल बसेका थिए।

प्रकाशित: ३२ श्रावण २०७७ ०२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App