समाज

दोलखामा आजदेखि एक हप्ताका लागि लकडाउन

दोलखाको उत्तरी गौरीशंकर गाउँपालिकामा समुदाय स्तरमा कोरोना फैलिएको भन्दै स्थानीय प्रशासनले शुक्रबार मध्यरात देखि जिल्लामा १ साताका लागि लकडाउन गर्ने निर्णय गरेको छ।  

स्थानीय अधिकारीहरुसहित जिल्ला स्तरीय विपत व्यवस्थापन समितिको शुक्रबार सम्पन्न बैठकले गौरीशंकर गाउँ पालिकामा समुदाय स्तरमा कोरोना फैलिन लागेको आँकलनसहित शुक्रबार राति १२ बजेबाट आगामी भदौ ६ गते सम्मका लागि जिल्लामा लकडाउन गर्ने निर्णय गरेको हो।  

जिल्लाको गौरीशंकर गाउँपालिकामा कार्यरत एक जना डाक्टर लाई कोरोना देखिएपछि उनी मार्फत थुप्रै मानिसहरुमा ट्रेसिङ गरिदा ८३ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। ती मध्ये गाउँपालिका अध्यक्ष स्वयंबहादुर खडका र उपाध्यक्ष उर्मिला थामीको रिपोर्ट नेगेटिभ आएको थियो।  

यस अघिका संक्रमित सोही पालिकाका डाक्टर संग यात्रा गरेकी गौरीशंकर गाउँपालिकाकी उपाध्यक्ष उर्मिला थामी र उर्मिला मार्फत प्रत्यक्ष कन्ट्र्याक्टमा रहेका गाउँपालिका अध्यक्ष स्वयं बहादुर खड्काको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।  

यही टोलीसंग कन्ट्याक्ट् ट्रेसिङमा आएका ८३ जना मध्ये ५ जनाको रिपोर्ट पोजिटिभ आएको स्थानीय अधिकारीहरुले जनाएका छन् । ५ जना मध्ये १ जना स्थानीय एक बाणिज्य बैंकका कर्मचारी, अर्का एक जना स्थानीय एम्बुलेन्सको ड्राईभर, अर्की गाउँपालिकाकी एकजना ईन्जिनियर, अर्का सुरी गाउँका एक व्यापारी साथै ठेकेदार रहेको र एक अर्का स्थानीय रहेका छन्।

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आज मध्यरातबाट लकडाउन गरिएको सुनाए। उनले जोखिम अत्याधिक बढेको र समुदायमा संक्रमण फैलने सक्ने अवस्थालाई मध्यनजर गरि दोलखामा ७ दिनका लागि लकडाउन गरिएको समेत बताए।

लकडाउनमा, खाद्य सामग्री, दुग्धजन्य र तरकारी पसल  र अत्यावश्यक बस्तुका सामग्रीलाई समेत बिहान १० बजेसम्म मात्र खोल्न दिइने जनाइएको छ। यातायात र आवागमन पूर्ण रुपमा बन्द गरिने प्रशासनले जनाएको छ।

प्रकाशित: ३१ श्रावण २०७७ ०२:१८ शनिबार

लकडाउन