समाज

लिदी पहिरो पीडितको बयान– ३० घरको नामाेनिशान छैन, ३७ जना सम्पर्कविहिन (अपडेट)

सरकारले नसुन्दाको परिणाम

नेत्र दोङ, पहिरो पीडित

लिदी पहिरोका गम्भिर पाँच घाइतेलाई नेपाली सेनाको हेलिकप्टरले दुई खेपमा उद्धार गरेर सदरमुकाम चौतारा लगेको छ। अरु १५ घाइते भने गाउँमै छन्। पहिरोमा शरीर दरखरिएका उनीहरुको अवस्था सामान्य नै छ।  

घटनास्थलमा अहिले पनि पहिरो खसिरहेको छ। हेलिकप्टरबाट उतारिएका पाँच सेना घाइतेको उद्दार र बेपत्ताको खोजीमा जुटिरहेका छन्। प्रहरी अहिलेसम्म घटनास्थल आइसकेका छैनन्। भागेर मुश्किलले ज्यान जोगाएका स्थानीय बेपत्ताको खोजीमा जुट्ने हिम्मतमा छैनन्। यत्रतत्र छरिएर बसेका गाउँले रुवावासी गरिरहेका छन्।  

लदी त्यस्तै ६० घरपरिवारको बाक्लो गाउँ हो। अघिल्लो रातिदेखि नै अबिरल वर्षा भइरहेको थियो। बिहान अकस्मात पहिरो खस्यो। बस्तीको पाँच सयमिटर माथिबाट पहिरो आएको हो। क्षणभरमै गाउँ उजाड बनायो। २५–३० घरको नामनिशाना छैन, ती सबै पहिरोमा पुरिए। बाँकी घर जोखिममा छन्। हामी बेपत्ताको सूची बनाइरहेका छौँ। सूचीअनुसार अहिलेसम्म ३७ जना सम्पर्कमा छैनन्। उनीहरु पहिरोमै हराइरहेका हुन् या सुरक्षितस्थलमा छन् एकीन छैन। पहिरोमा दुईटा शब देखिएको छ। तर निकालेको छैन।

 

यो पनि पढ्नुहोस्

लिदी पहिरोः नेपाली सेना घटनास्थलमा, सभामुख सापकोटा चौतारा पुगे

 

पहिरोले नसोचेको क्षति पु¥याएको छ। क्षति अझ भयाबह हुन सक्थ्यो। गाउँलेकै चलाखीकै बीच ठूलो घटना हुन गयो। गएको असार तेस्रो साता यही ठाउँमा बस्तीमाथिबाट पहिरो खस्यो। दुई घर क्षतिग्रस्त बनायो। त्यही दिनदेखि बस्ती जोखिममा परेको निष्कर्षसहित गाउँलेले घरमा सुत्दैनथे। सुरक्षित स्थलमा रहेको गोठ, टहरोमा गाउँलेले रात कटाउँदै आएका थिए। रातिको खाना खाएर गोठमा सुत्न जाने उनीहरु बिहान खाजा खाना र धन्दा गर्न गाउँ आउँथे।

त्यही दैनिकीका बीच शुक्रबार बिहान गाउँलेले जे सोचेका थिए, त्यही भएरै छोड्यो। अरु धेरै गाउँले गोठबाट घर आउँन भ्याइसकेका थिएनन्। सबै आएको भए वा सुत्न गोठ नजाने गरेको भए भयावह क्षति हुनेवाला थियो।

सरकारले नसुन्दाको परिणाम  

हाम्रो गाउँमूनि ब्रम्हयणी नदीमा बलेफी ए जलविद्युत आयोजना बनिरहेको छ। त्यहाँ सुरुङ खनिएको छ। तल सुरुङ, माथिबाट खस्न थालेको पहिरोले गाउँमा चिन्ता थप्यो। हामी असार २३ गतै सदरमुकाम गयौँ। सिडिओलाई समस्यासहितको ज्ञापनपत्र बुझायौँ। गाउँलेलाई पहिरोबाट बचाउन अनुनय ग-यौँ। स्थानीय सरकार पनि गुहा-यौँ। प्रदेश सरकारसम्म समस्या राख्यौँ। अँह ! कुनै सरकारले पनि हाम्रो गुहार सुनेन। र, अहिले यो अवस्था भोग्नु प-यो। बिहीबार राति सुत्नु अघिसम्म गाउँलाई पहिरोबाट जोगाउने अभियानमै थियौँ हामी। अब सबै प्रयास ब्यर्थै भयो।

(जुगल गाउँपालिका–२ गोल्चे लिदी गाउँका पहिरो पीडित नेत्र दोङसँग मोबाइल फोनमा गरिएको कुराकानीमा आधारित)

प्रकाशित: ३० श्रावण २०७७ ०६:०९ शुक्रबार

बाढीपहिरो पीडित