समाज

सिद्धबाबा सडकखण्डको समस्या स्थायी रुपमा समाधान गर्न माग

मृत्युमार्गको रुपमा परिचित भएको सिद्धबाबा सडकखण्डको पहिरो ग्रस्त जोखिमलाई स्थायी रुपमा समाधान गर्न माग गरिएको छ । प्रदेश र संघीय सरकारले सिद्धबाबा क्षेत्रको पहिरोबाट हुने जोखिम अन्त्य गर्ने गरि योजना अघि बढाइरहेको बेला बुटवल क्षेत्रका नागरिक अगुवा र राजनितिज्ञहरूले स्पष्ट योजनाको माग गरेका हुन्।  

दैनिकपत्र दैनिक, रेडियो जागरण र समृद्धि सरोकार केन्द्रले शुक्रबार बुटवलमा गरेको ‘जोखिमपूर्ण सिद्धबाबा सडकखण्ड र स्थायी समाधान’ बिषय अन्तर संवाद मार्फत पहिरोका कारण वर्षेनी जिउधनको क्षेती भएकाले अब गफ भन्दा काम गर्ने योजना अघि बढाउन सुझाव दिइएको छ ।  

कार्यक्रममा प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकार स्थापना भएदेखि नै सिद्धबाबा पहिरोको समस्या हल गर्ने गरि विभिन्न विकल्पका बारेमा अध्ययन र बजेट नै छुटाएको बताए । उनले तिनाउ नदी माथि पुल बनाउने, रकनेट प्रविधि, डाँडा काट्ने र वैकल्पिक मार्गका विकल्प रहेको बताउँदै प्रदेश सरकारले वैकल्पिक मार्गलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।  

मन्त्री चौधरीले बुटवल धागो कारखाना हुँदै चरगें झुम्सालाई बैकल्पिक सडक खण्डका रुपमा तीन वर्षदेखि बजेट छुटाएर काम गरेको बताए । उनले अर्को वर्ष सिद्धबाबाको पहिरोले कुनै पनि नागरिकले मृत्यु नहुने ठोकुवा समेत गरे ।

संघीय सरकारले सुरुङमार्ग निर्माण गर्ने योजना अघि बढाएकाले प्रदेश सरकारले वैकल्पिक सडकलाई प्राथमिकतामा राखेको मन्त्रीको भनाई छ । ‘चुरे पहाड भएकाले सुरुङमार्ग बन्छ जस्तो त लाग्दैन, प्रदेश सरकारले वैकल्पिक सँगै पहाड काटेर टाउन प्लानिङको योजना पनि अघि बढाइएको छ,’ उनले भने ।  

उनले सिद्धबाबा खण्डको सडकमा वर्षेनी धनजनको क्षेती हुँदै आएकाले अब यसको स्थायी रुपमा समाधान गर्ने गरि काम गर्न नागरिक स्तरबाट दवावको खाँचो समेत औल्याए । बुटवल नुवाकोट दोभानलाई यात्रुवाहक र चरंगे झुम्सा सडकलाई टिप्परका रुपमा प्रयोग गर्ने मन्त्री चौधरीले बताए ।  

कार्यक्रममा संविधानसभा सदस्य नेत्र पन्थीले सिद्धार्थ राजमार्ग स्थापना भएदेखि नै सिद्धबाबा क्षेत्रमा समस्या देखिएकाले यसको स्थायी रुपमा समाधान गर्ने गरि प्रदेश सरकारले अगुवाई गर्नुपर्ने बताए । अर्का संविधानसभा सदस्य विनोद पहाडीले हवाई विकासका पत्रहरू बारम्बार आउने गरेपनि सिद्धबाबा क्षेत्रको जोखिम समाधान गर्ने गरि विकास भने हुन नसकेको बताए ।  

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले प्रकृतिको विनाश गरेर विकास गर्दा थप विनाश निम्तने बताउँदै सिद्धबाबा क्षेत्रमा बर्षेनी पहिरोले नागरिकको ज्यान जाने गरि हुने घटनाको अन्त्यका लागि सरकार संवेदनशिल हुनुपर्ने बताए ।  

कार्यक्रममा दैनिकपत्रका प्रधानसम्पादक बालकृष्ण चापागाई, समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरे, पर्यटन व्यवसायी माधव नेपाल, यातायात व्यवसायी पर्शुराम ढकाल, ऋषि आजाद लगायतले बोल्दै सिद्धबाबा सडकखण्डको यात्रालाई सुरक्षित र भरपर्दो बनाउने गरि प्रदेश सरकारले काम गर्ने बेला आएको बताए ।

प्रदेश ५ सरकारले भने बुटवल धागो कारखाना हुँदै चरंगे झुम्सा सडकखण्डका लागि भने आर्थिक वर्ष ०७७/७८ का लागि साँढे १४ करोड बजेट छुट्याएको भौतीक पूर्वाधार मन्त्रालयका प्रवक्ता इञ्जिनियर भिर्माजुन पाण्डेले जानकारी दिए । रुपन्देही खण्डमा साँढे ९ लाख र पाल्पा तर्फ ५ करोड बजेट छुटाएर अर्को वर्षसम्म गाडी चलाउने तयारीमा रहेको उनले बताए ।

प्रकाशित: २३ श्रावण २०७७ १२:१३ शुक्रबार

सिद्धबाबा सडकखण्ड