समाज

गोली लागेर घाइते एक जनाको मृत्यु

पाँच दिनअघि सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका सुनसरी हरिनगरका एक युवकको बुधबार राति उपचारका क्रममा मृत्यु भएको छ । साउन २ गते राति तस्कर समूह र सशस्त्र प्रहरीबीच सुनसरीकै हरिनगर वडा नं. ७ को मोहरम चौकमा झडप हुँदा घाइते भएका स्थानीय सहवाज अनसारीको मृत्यु भएको हो । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो । तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा सहवाजको पेटमा गोली लागेको थियो ।

तस्करको आक्रमणबाट सशस्त्र प्रहरी जवान जीवराज विशंखे घाइते भएका थिए । जीवराजको पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै उपचार भइरहेको छ । राति १२–१५ जनाको संख्यामा रहेको तस्कर समूहले भारतीय बजारबाट भन्सार छली समान ल्याउने क्रममा सशस्त्र प्रहरीले सामग्री नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो । तस्कर समूहभन्दा सशस्त्र प्रहरीको टोली कमी भएपछि सहजै आक्रण गरेका थिए । तस्कर समूहले सशस्त्र प्रहरीलाईं बाँसको भाटा, इँट्टा, ढुंगालगायतले आक्रमण गरेका थिए ।

सीमावर्ती क्षेत्रमा श्रृखलाबद्द रुपमा घटना हुने गरेका छन् । झडपले गर्दा स्थानीय र प्रहरीबीच असमझदारी पनि हुने गरेको छ । सशस्त्रको गोली लागेर मृत्यु भएका सहवाजको समेत आफन्तले शव बुझ्न नमानेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीको अगुवाईंमा भएको सर्वपक्षीय भेलाले गृह मन्त्रालयमा क्षतिपूर्तिका लागि पहल गर्ने र छानबीन समिति गठन गर्ने सहमति भएको छ ।

प्रकाशित: ८ श्रावण २०७७ ०९:५१ बिहीबार

गोली लागेर मृत्यु