समाज

मृतक परिवारका सबैलाई कोरोना पुष्टि

कोरोना संक्रमणबाट मृत्यु भएका राजविराज नगरपालिका–६ का ७३ वर्षीय एक पुरुषको परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनको परिवारका ५ जना सदस्यलाई कोरोना भाइरस पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय राजविराजका प्रमुख दुुनीयालाल यादवले जानकारी दिए। उनका अनुसार मृतक परिवारका पाँचै जनालाई कोरोना पोजेटिभ भएपछि उनको घरलाई नै आइसोलेसन सेन्टर बनाइएको छ।  

घरको एउटा भागलाई सेनिटाइज गरेर लक गरिएको छ, भने अर्को भागमा पाँचै जना सदस्य बसेका छन। उनको घर नजीकै राजविराजको अस्थायी कोरोना अस्पताल रहेको छ। ‘कोरोना संक्रमित व्यक्तिलाई अपनाउनुपर्ने सावधानी, सरसफाई, सुरक्षालगायतका विषय जानकारी गराएका छौं,’ डाक्टर यादवले भने, ‘घरमै भएपनि उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा छन्। घरमा केही सामग्रीको आवश्यकता परेमा सुरक्षाकर्मीमार्फत व्यवस्था गरिन्छ।’  

स्वासप्रश्वासमा समस्या भएपछि गत असार ३० गते उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएका ७३ वर्षीय वृद्धाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो। उनको गत शुक्रबार उपचारका क्रममा मृत्यु भएको थियो। मृत्युपछि उनका परिवारका सदस्य सहित २३ जना स्थानीयको स्वाब संकलन गरेर राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा परिवारका सबैमा कोरोना संक्रमण पुष्टि भएको थियो।

मृतकको पसल समेत रहेकाले त्यहाँ काम गर्ने र आवतजावत गर्ने १७ जनाको पनि परीक्षण गरिएको छ। तीमध्ये एकजनाको नतिजा नेगेटिभ आएको र बाँकीको भने नतिजा आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले जनाए।  

उनका अनुसार आइतबार मात्रै सप्तरीमा १२ जना नयाँ संक्रमित थपिएका छन्। जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ, भने ३ सय ७८ जना संक्रमित भएको भएका छन्। ती मध्ये २ सय जना सन्चो भएर भएर घर फर्किएका छन्। प्रदेश २ मा संक्रमितको संख्या ४ हजार ५ सय ५१ पुगेको छ। त्यसमध्ये २ हजार ६ सय ५९ जना उपचारपछि घर सन्चो भएर घर फर्किएका छन्। प्रदेश २ मा अहिलेसम्म कोरोना संक्रमित ६ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: ५ श्रावण २०७७ ०२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App