समाज

सैनिक जवानमा कोरोना पोजिटिभ

इलाम नगरपालिकास्थित जिल्ला समन्वय समिति भवनको क्वारेन्टिनमा सुरक्षार्थ खटिएका सैनिकमा कोरोना संक्रमण देखिएको छ । कोसी अस्पतालमा गरिएको परीक्षणमा नेपाली सेनाका ३२ वर्षे जवानसहित ६ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।  

इलाम क्वारेन्टिनमा गढीथुम्कास्थित पशुपतिप्रसाद गणका ४ सैनिकको स्वास्थ्य टोली खटिएको छ । यो टोली गणसम्म आउ–जाउ नगर्ने भएकाले अन्य सैनिकसँग उनीहरूको भौतिक सम्पर्क नभएको गाणले जनाएको छ ।  गणपति प्रभात थापाले चैत अन्तिमदेखि टोलीका सदस्य परिवर्तन नगरिएको बताए । ‘जोखिम होला भनेरै हामीले क्वारेन्टाइनमा खटिएको टोली परिवर्तन गरेका छैनौं,’ उनले भने, ‘४ सदस्यमध्ये १ जनाको मात्रै पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण गर्दा पोजिटिभ देखिएको हो, बाँकी ३ जनाको पनि अब परीक्षण हुन्छ ।’

क्वारेन्टिनमा रहेका इलाम नगरपालिका–१० का १९/१९ वर्षे २ जना र २२ वर्षे १ जना, वडा ८ का ४० वर्षे तथा वडा ७ का २२ वर्षे पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । इलामस्थित स्वास्थ्य कार्यालयका अनुसार २ युवा भारतबाट आएका हुन् भने अरू ३ युवा कतार, कुबेत र ग्रिसबाट । कार्यालयका कोरोना फोकल पर्सन विमल बरालले संक्रमितहरूलाई मोरङको गोठगाउँस्थित आइसोलेसन पठाइएको जानकारी दिए । ‘कुनै पनि संक्रमितमा कोरोनाको लक्षण चाहिँ देखिएको छैन, स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने, ‘विदेशबाट आएर असार २७ यता क्वारेन्टिनमा रहेका उनीहरूको २८ गते स्वाब नमुना संकलन गरिएको थियो ।’  

योसँगै इलाममा कोरोना पुष्टि भएकाहरूको संख्या २२ पुगेको छ । यसअघि सूर्याेदय नगरका ११, इलाम नगरका २ तथा माई र देउमाई नगरका १/१, रोङ गाउँपालिकाका १ जनाका संक्रमण पुष्टि भएको थियो । यीमध्ये ११ जना अस्पतालबाट डिस्चार्ज भइ घर फर्केका छन् ।

प्रकाशित: १ श्रावण २०७७ १४:४५ बिहीबार

कोरोना पोजिटिभ