समाज

कोरोनाले फेरिए स्थानीय तहका प्राथमिकता

कोरोना भाइरस संक्रमणका कारण प्रदेश नं ५ का स्थानीय तहका प्राथमिकता फेरिएका छन्।  प्रदेश नं ५ का अधिकांश स्थानीय तहले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेट बनाएका छन्।  

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेट स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा केन्द्रित गरेको छ। सातौंँ नगरसभाको तेस्रो बैठकमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले आज कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई ध्यानमा राखी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे। 

एक अर्ब ८९ करोड २६ लाख रुपैयाँको प्रस्तावित बजेटमा सामाजिक सुरक्षाको २५ करोड रुपैयाँबाहेक चालुतर्फ ५२ करोड एक लाख अर्थात् ३१ दशमलव ६७ प्रतिशत र पूँजीगततर्फ एक अर्ब १२ करोड २५ लाख रुपैयाँ अर्थात् ६८ दशमलव ३३ प्रतिशत  प्रस्ताव गरिएको छ। चालु आर्थिक वर्षको तुलनामा तिलोत्तमाले आगामी आर्थिक वर्षको बजेटको आकार ३५ करोड रुपैयाँले बढाएको हो।  

बजेट प्रस्तुत गर्दै उपप्रमुख चौधरीले क्रमागत आयोजनाको निर्माण पूरा गर्ने, लगानीको वातावरण सिर्जना गर्ने तथा कृषि, स्वास्थ्य, शिक्षामा लगानी बढाई नगरवासीमा परिवर्तनको अनुभूति गराउने विषयलाई बजेटमा प्राथमिकता दिइएको बताए।  बजेटमाथि नगरसभाको अर्को बैठकमा दफाबार छलफल हुने प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले बताए। 

प्रकाशित: १० असार २०७७ ११:०२ बुधबार

कोरोना संक्रमण