समाज

कुबेतबाट फर्किएका नौ महिलासहित सिन्धुमा एकै दिन थपिए १८ संक्रमित

नौ दिनअघि कुबेतबाट उद्धार गरी स्वदेश फर्काइएका नौ महिलासहित सिन्धुपाल्चोकमा एकै दिन १८ जना कोरोना संक्रमित थपिएका छन्। बाहुनेपाटी क्वारेन्टिनमा बस्दै आएका १३ र मेलम्चीस्थित क्षेत्रीय क्वारेन्टिनमा रहेका पाँच जनामा कोरोना संक्रमण भेटिएको हो।  

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बिहीबार राति थ्रोट स्वाब परीक्षण रिपोर्ट पठाएको थियो। असार १ गते बाहुनेपाटी र मेलम्ची क्वारेन्टिनबाट २६ जनाको स्वाब नमूना पठाइएकोमा १८ को रिपोर्ट पोजेटिभ आएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जानकारी दिए। १८–४१ वर्ष उमेर समूहका संक्रमितमध्ये नौ पुरुष पुरुष हुन्। संक्रमितमध्ये पाँचपोखरी थाङपाल गाउँपालिकाका ११, मेलम्ची नगरपालिकाका चार र हेलम्बु गाउँपालिकाका तीन जना रहेका छन्।

उनका अनुसार थपिएका संक्रमितमध्ये नौ जना कुबेतबाट फर्किएका महिला हुन्। उनीहरुलाई जेठ २९ गते कुबेतबाट उद्धार गरी स्वदेश फर्काइएको थियो। उक्त खेपमा जिल्लाका मात्र २३ महिला फर्किएका थिए। बाँकीको भने परीक्षण रिपोर्ट आइसकेको छैन। संक्रमित पाँच जना दोलखा र चार भोजपुर जिल्लाबाट आएका हुन्।  

यसअघि दोलखाबाट आएका दुई जनामा संक्रमण भेटिएको थियो। उनीहरु सबै दोलखामा निर्माणाधीन खानीखोला जलविद्युत आयोजनाका मजदुर हुन्। तराईबाट छड, सिमेन्ट बोकेर आएको ट्रकमा चढेर आयोजनामा काम गर्ने जिल्लाका १० जनासँगै फर्किएका थिए। दोलखाबाट सँगै आएका सात जनामा संक्रमण भेटिएको हो। तीनको रिपोर्ट आउन बाँकी छ। पहिलो पटक जेठ २९ गते मजदुरमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा उक्त आयोजनाका कार्यरत अरु ४४ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो। ट्रकबाटै उनीहरुमा कोरोना सरेको अनुमान गरिएको छ।  

संक्रमित बढ्दै, आइसोलेसन कक्ष भरिँदै  

योसमेत जिल्लामा संक्रमितको संख्या २४ पुगेको छ। संक्रमित एक महिलाको मृत्यु भइसकेको छ। एक पुरुष भने उपचारपछि निको भएर घर फर्केका छन्। मुलुकमा कोरोनाबाट ज्यान गुमाउने ती महिला पहिलो थिइन्। क्रमशः संक्रमित बढ्दै जाँदा आइसोलेसन कक्ष भरिन थालेका छन्।  

यही दर संक्रमित बढे जिल्लामा आइसोलेसन कक्षको चरम अभाव हुने देखिएको छ। विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा गरी जिल्लामा ३८ शैया क्षमताको आइसोलेसन कक्ष उपलब्ध छ। हाल हाइसोलेसनमा ६ उपचाररत छन्। तीमध्ये चार संक्रमित हुन्।  

मेलम्ची क्षेत्रमा आइसोलेसन अभाव भएपछि थपिएका १८ संक्रमितलाई क्षेत्रीय क्वारेरिन्टनलाई नै आइसोलेसनमा बदलेर उपचार गर्ने तयारी भइरहेको बरिष्ठ जनस्वास्थ्य अधिकृत चापागार्इँले बताए। ‘स्वास्थ्य सामाग्री र स्रोत, साधनको अभाव हुन नदिन उनीहरुलाई एकै ठाउँमा राखेर उपचार गर्ने प्रवन्ध मिलाउँछौँ,’ उनले भने। मेलम्चीमा सात शैया क्षमताको मात्र आइसोलेसन कक्ष छ।

प्रकाशित: ५ असार २०७७ ०५:४७ शुक्रबार

कोरोना संक्रमित