समाज

बहुविवाह गरेको ७ वर्षपछि पक्राउ

प्रतिकात्मक तस्बिर: पक्राउ

बहुविवाहको गरेको कसुरमा सप्तरीमा एक युवक ७ वर्षपछि जेल चलान भएका छन्।  सप्तरी जिल्ला अदालतले बहुविवाह मुद्दामा १ वर्ष कैद सजाय सुनाएका बोदेबर्साइन नगरपालिका–९, देउरीका २७ वर्षीय विश्वनाथ साहलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको हो। ।

जिल्ला अदालतले २०७० माघ १२ गते उनलाई बहुविवाह कसुरमा सजाय सुनाएको थियो। त्यसयता फरार उनलाई प्रहरीले पक्राउ गरी कैद सजायका लागि राजविराज कारागार पठाएको हो।  

यो पनि पढ्नुहोस्

बहुविवाह गरेको आरोपमा पक्राउ

जेठी श्रीमती आशाकुमारी साहले आफू हुँदाहुँदै पति साहले बलानबिहुल गाउँपालिका–४ बेल्हीकी २२ वर्षीया भवानीकुमारी साहसँग २०६९ मा विवाह गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिएकी थिइन्।  

साथै आशाकुमारीले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा २०६९ चैत ९ गते वैवाहिक बलात्कारको उजुरीसमेत दिएकी थिइन्। यस अभियोगमा २५ दिन थुनामा बसेर साह २०७० वैशाख ४ गते २५ हजार धरौटीमा रिहा भएका थिए भने फैसला हुँदा सफाइ पाएको सप्तरीको कडरबोनास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए।  

सप्तरी जिल्लाका लागि यो वैवाहिक बलात्कारको मुद्दा पहिलो रहेको जिल्ला अदालतले जनाएको छ।

प्रकाशित: ३ असार २०७७ ०९:२५ बुधबार

बलात्कार पक्राउ