समाज

सल्लेमा बाघको आतंक

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा बाघको आतंक फैलिएको छ। बाघले केही दिन यता चराउन लगेको बाख्रा, बोका र खोरमा राखिएको सुँगुर खाइदिन थालेका हुन्। मंगलबार दिउँसो सल्ले गैरीटोलका स्थानीय उदयकुमार राईको चराउन लगेको बोका बाघले मारेको वडाध्यक्ष कासीराज राईले बताए। जेठ १ गते मात्र भुजेलटोलका चतुरमान भुजेलको खोरमा राखेको सुँगुर बाघले लगेको थियो। हराएको सुँगुर खोजीगर्दा आधा खाइसकेको अवस्थामा फेला परेको थियो।  

उदयकुमारको गत वर्षको मंसिरमा एउटा र साउन–भदौमा तीन वटा बाख्रा बाघले खाइदिएको थियो। यस्तै, गत भदौ १८ गते चरणबाट घर फर्काउनेक्रममा स्थानीय चुडामणी राईको दुई वटा बाख्रा बाघले मारेको थियो। पछिल्लो समय बाघले चौपायमाथि आक्रमण गरेर किसानलाई आजित बनाएको वडाध्यक्ष राईले बताए। पाँच÷छ महिनाअघि वडाध्यक्ष राईकै दुई वटा बाख्रा बाघले मारेको थियो। ‘बेला–बेलामा बाघले बोका, बाख्रा खाइ नै रहेको छ,’ वडाध्यक्ष राईले भने, ‘जंगलमा बाघ हिँडिरहेको देखिने गरेको छ। गोठालो गरिएन र छाडा छाडियो भने बाख्रा खाइदिइहाल्छ।’

प्रकाशित: ३ असार २०७७ ०५:१६ बुधबार

बाघको आतंक