समाज

स्थानीयले बनाए कांसाहोप ताल

खार्मीका स्थानीयले निर्माण गरेको कांसाहोप तालमा पुगेका युवायुवती। तस्बिर/नागरिक

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका स्थानीयले ताल निर्माण गरेका छन्। खार्मीका २२ घर स्थानीयले भंगेटारमा कांसाहोप नामक ताल निर्माण गरेका हुन्। कांसाहोप, बाँझोबारी, रमितेडाँडा लगायतका ठाउँको पर्यटन प्रवद्र्धनका लागि कृत्रिम ताल निर्माण गरिएको उपभोक्ता समितिका सचिव दिपककुमार तामाङले बताए।  

जमिन रिचार्ज गर्नेदेखि तल्ला क्षेत्रमा सिँचाईमा उपयोग गर्न मिल्नेगरी स्थानीयले चन्दा उठाएर करिब ३ लाख ५ हजारमा एल आकारको ताल निर्माण गरेका हुन्। नियमित पानी पलाउने मुहान भएको सानो खाल्डोलाई लकडाउनकैबेला स्काभेटर प्रयोग गरेर फराकिलो बनाएर तालको आकार दिइएको हो। कांसाहोप ताल बनेपछि रमिता हेर्ने र घुमफिर गर्ने स्थानीय आउन थालेको सचिव तामाङले बताए। तालसम्म पुग्नका लागि कच्ची सडक बनिसकेको छ। तामाङ भाषामा मटेंग्रा बनाउने माटोलाई ‘कांसा’ र खाल्डोलाइै ‘होप’ भनिन्छ। सो स्थानको खाल्डोमा मटेंग्रा बनाउने माटो पाइने र झिक्ने गरेकाले सो स्थानलाई कांसाहोप भनिएको स्थानीय बताउँछन्। ‘त्यहाँ सानो खाल्डो थियो। मेसिन लगाएर खाल्डोलाई फराकिलो बनाइएको हो। ताल बनाउनका लागि हामीले चन्दा उठायौँ, श्रमदान गरेका छौँ,’ तामाङले भने, ‘यस ठाउँको पर्यटन प्रवद्र्धनकै लागि हामीले ताल बनाएका हौँ। जमिनमा रिचार्जको काम गर्ने तालको पानी तल्लो क्षेत्रमा सिँचाई गर्न समेत उपयोग गर्न सकिने छ।’ टाढाबाट पानको पातको आकृति देखिने तालमा नजिकैको खोदु खोलाको पानी पनि ल्याएर हालिएको छ।  

कांसाहोप तालबाट दुई मिनेट पश्चिममा रहेको रमितेडाँडा वा रमितेढुंगा घुमफिरका लागि चर्चित छ। सो स्थानबाट टाढा–टाढाका मनोरम दृश्यावलोकन गर्न सकिने तामाङले बताए। बाँझोबारीबाट सिधै कांसाहोप ताल पुग्ने छोटो दुरीको सडक निर्माण गर्न सके बाँझोबारी र कांसाहोपको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताइएको छ। बजेट प्राप्त भए तालको क्षेत्रफल थप बढाउन सकिने तामाङले बताए। ताल निर्माणकाक्रममा संकलन गरिएको रकममध्ये २ लाख ७५ हजार स्काभेटर सञ्चालकलाई दिइएको र बाँकी रहेको रकम चालक, सह–चालक तथा श्रमदानमा सहभागी स्थानीयको खाना, खाजामा खर्च गरिएको उपभोक्ता समितिले जनाएको छ।

प्रकाशित: ३२ जेष्ठ २०७७ ०५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App