अघिल्लो महिनासम्म कर्णाली कोरोना संक्रमणबाट टाढै थियो। संघीय सरकारले सिंगो देश लकडाउन (बन्दाबन्दी) गरिरहँदा कर्णालीले भने प्रदेशलाई ‘सिल’ गरेको थियो। भारतबाट मात्रै होइन्, अन्य प्रदेशबाट आउने नागरिकदेखि खाद्यान्नसमेतमा कडिकडाउ थियो। जव बैशाख ३० मा भारत सरकारले रेल सेवा सुरु ग¥यो, त्यसपछि कर्णालीमा कोरोना संक्रमण भित्रिन थाल्यो। भारतबाट आउने नागरिकसँगै भित्रिएको कोरोना अहिले समुदायस्तरसम्म पुगेको छ।
कर्णालीमा जेठ पाँच गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। त्यसयता ७६३ नागरिक संक्रमित भइसकेका छन्। कोरोना संक्रमणकै कारण कर्णालीमा तीन जनाले ज्यान गुमाइसकेका छन्। राहत वितरण गर्ने स्वयम्सेवक, उपचारका खटिएका स्वास्थ्यकर्मीदेखि सुरक्षामा खटिएका सुरक्षाकर्मीसम्मलाई कोरोना संक्रमण देखिएको छ। दुई साताको अवधिका समुदायका १८ जनामा कोरोना संक्रमण देखिएको छ।
नजिकका दुई (स्थानीय र प्रदेश) सरकारले भारतबाट आफ्नो पालिका र प्रदेशमा भित्रिने नागरिकहरुको तथ्याङ्क राख्न नसक्दा कर्णालीमा कोरोना कहर अझै बढ्ने निश्चित छ। भारतबाट आउने नागरिकको व्यवस्थापनमा यहाँका स्थानीय र प्रदेश सरकार चुकेका छन्। ‘लकडाउन सुरु भएसँगै स्थानीय र प्रदेश सरकारले भारतमा रहेका आफ्ना नागरिकको तथ्याङ्क संकलन गरिदिएको भए अहिलेको संकट आउनेनै थिएन्,’ मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक दुर्गाप्रसाद सापकोटाले भने, ‘नजिकका दुई सरकारको लापरवाहीले कर्णाली कोरोनामय बन्दै गइरहेको छ।’
२, जेठको कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले भारतबाट २५ हजार कर्णालीबासी आउने अनुमान गर्दै तयारी सुरु ग¥यो। भारतबाट आउने नागरिकहरुका लागि प्रदेशको मुख्य प्रवेशद्वार बबईमा एक सय बेडको क्वारेन्टिन स्थापना गर्नुका साथै अनिवार्य चेकजाँच गरेर सम्वन्धीत पालिकामा पु¥याउने निर्णय ग¥यो। क्वारेन्टिन निर्माणको जिम्मा नेपाली सेनालाई दिइयो भने स्वास्थ्य चेकजाँचको जिम्मेवारी सामाजिक विकास मन्त्रालयले लियो। यो अवधिमा न नेपाली सेनाले क्वारेन्टिन निर्माण ग¥यो, न मन्त्रालयले प्रदेशको सीमासम्म आइपुगेका नागरिकहरुको स्वास्थ्य चेकजाँचनै ग¥यो। बरु आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सीमासम्म आइपुगेका नागरिहरुलाई परीक्षणविनै गाउँ–गाउँ पु¥याइदियो।
‘हामीले लकडाउन सुरु हुँदै भारत र तेस्रो मुलुकमा रहेका नागरिकहरुको तथ्याङ्क संकलन गर्न सरकारलाई सुझाव दिएका थियौं,’ कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले भने, ‘उतिबेला चीनको बुहान मोडलमा काम गरिरहेका छौं भन्थे, अहिले आफै कोरोना महामारी नियन्त्रण बाहिर गैसक्यो भन्दै रोइलो गरिरहेका छन्।’
कर्णालीमा प्रदेश सरकारले अनुमान गरेभन्दा तेब्बर नागरिकहरु भारतबाट कर्णालीमा भित्रिएका छन्। अझैसम्म कुनैपनि स्थानीय तहले आफ्ना नागरिकहरु भारतमा कति जना छन् भन्ने यकिन गर्न सकेका छैनन्। ‘लकडाउनको सुरुवातमै हामीले तथ्याङ्क संकलन गरिदिएको भए अहिले भारतबाट आउने नागरिकहरुको व्यवस्थापनमा सहज हुन्थ्यो,’ दैलेखको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले भने, ‘उतिबेला वास्ता गरिएन, अहिले व्यवस्थापनमा समस्या भइराखेको छ।’
तथ्याङ्क अनुसार भारतमा सबैभन्दा धेरै सुर्खेतका नागरिकहरु छन्। यहाँका करिव ८० हजार नागरिकहरु भारतमा रहेको अनुमान गरिन्छ। यस्तै दैलेखका मात्रै ५० हजारको हाराहारीमा नागरिकहरु घर फर्कदैं छन्। कर्णालीका अधिकांस जिल्लाका नागरिकहरु भारतमा मौसमी रोजगारीका लागि जान्छन्। चैतमा फर्कने उनीहरु लकडाउनका कारण आउन सकेनन्। रेल सेवा सुरु भएसँगै आउनेक्रम सुरु भएको छ। ‘भारतमा रहेका कर्णालीका अधिकांस नागरिकहरु मौसमी कामदारका रुपमा कार्यरत छन्,’ प्रवासी नेपाली संघ भारतका अध्यक्ष बालकृष्ण पाण्डेले भने, ‘चैतमा घर फर्कने, बाली भित्र्याउने, लगाउने र फेरि रोजगारीका लागि भारत आउने गर्छन्।’
प्रवासी नेपाली संघले भारतका प्रत्येक प्रान्तमा रहेका आफ्ना शाखामार्फत लकडाउनमा परेका नेपालीहरुको तथ्याङ्क संकलन गरेको छ। तथ्याङ्क अनुसार कर्णालीका मौसमी कामदारको संख्या दुई लाखबढी छ। ‘ति मध्ये डेढ लाख नागरिकहरु घर फर्कदै हुनुहुन्छ,’ अध्यक्ष पाण्डेले भने, ‘हामीले भारतस्थित नेपाली दुतावासमार्फत प्रत्येक प्रदेशको अनुमानित तथ्याङ्क नेपाल सरकारले उपलब्ध गराएका छौं।’
प्रहरीको तथ्याङ्क अनुसार भारतबाट अहिले दैनिक तीनदेखि पाँच हजारसम्म कर्णालीका नागरिकहरु बबई नाका भएर आइरहेका छन्। दैनिक पाँच सयदेखि एक हजारसम्म नागरिकहरु अन्य नाकाहरुबाट भित्रिने गरेका छन्। प्रदेश सरकारसँग बबई नाकाको मात्रै तथ्याङ्क छ। भारतबाट नागरिकहरु आउन सुरु भएपछि प्रदेश सरकारले स्थानीय तहहरुलाई तयारी थाल्न निर्देशन दिएको थियो। स्थानीय तहहरुले तयारी नगर्दै भारतबाट आउने नागरिकहरुले कर्णालीका गाउँ भरिन थाले।
प्रदेश सरकार आफै भारतबाट यति धेरै संख्यामा नागरिकहरु आउने अनुमान नगरेको बताउँछ। सामाजिक विकास मन्त्री दल रावलले आफुहरुले आँकलन गरेभन्दा तेब्बरबढी मानिसहरु आउन थालेपछि समस्या उत्पन्न भएको बताउँछन्। ‘हामीले बढीमा २५ हजार नागरिकहरु भारतबाट आउने अपेक्षा गरेका थियौं,’ मन्त्री रावलले भने, ‘अपेक्षाभन्दा धेरै नागरिकहरु आइराखेकाले व्यवस्थापन र स्वास्थ्य उपचारमा समस्या भएको छ।’
प्रदेश सरकार निर्णय मात्रै गर्ने तर, त्यसको कार्यान्वयन गर्न चुक्दा कर्णालीमा कोरोना कहर बढ्दै गएको हो। ‘निर्णय अनुसार भारतबाट आउने नागरिकहरुको स्वास्थ्य चेकजाँच गरेर बबईमै २१ दिनसम्म क्वारेन्टिनमा राखिदिएको भए कर्णालीमा कोरोना भित्रिने संभावना न्यून हुन्थ्यो,’ सुर्खेतको पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले भने, ‘स्थानीय तहसँग समन्वयनै नगरेर परीक्षणविनै भारतबाट आएका नागरिकहरुलाई एकै पटक पालिकामा झार्दा कोरोना समुदायस्तरसम्म पुग्यो।’
स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीमा हालसम्म संक्रमित मध्ये १८ जना समुदायका हुन्। कर्णालीका १० जिल्ला मध्ये समुदायस्तरमा जुम्लामा संक्रमण धेरै देखिएको छ। जुम्लामा तीन जना स्वास्थ्यकर्मी, तीन जना नेपाली सेनाका जवान, दुई प्रहरी र एक जना शिक्षकमा कोरोना संक्रमण देखिएको छ। यस्तै सुर्खेत र जाजरकोटमा पनि समुदायसम्म कोरोना फैलिएको छ।
प्रकाशित: ३० जेष्ठ २०७७ ०५:४३ शुक्रबार