समाज

कोरोना कहर: अलमलमा रोल्पा

लकडाउनपछि रोल्पा भित्रिएकाहरु । तस्बिर : दिनेश/नागरिक

रोल्पामा तीन दिनअघि पहिलो पटक ३ जनामा कोरोना संक्रमण देखिएको छ । परीक्षण नै नभएका कारण संक्रमित भए नभएको तथ्य बाहिर नआएको हो । सोमबारसम्मको तथ्याङ्क अनुसार अहिले भारतबाट आएका १ हजार ४ सय ६७ जना जिल्लाका बिभिन्न क्वारेन्टिनहरुमा बसिरहेका छन् । कोरोना महामारीको त्रासले लकडाउन गरिए यता यहाँका बिभिन्न क्वारेन्टिनमा बसेर ९ हजार ९३ जना घर फिर्ता भईसकेका छन् भने हाल पनि २ हजार १ सय ४४ जना क्वारेन्टिनहरुमा छन् ।  

यति ठूलो संख्यामा बाहिरबाट मानिसहरु जिल्ला आएको भए पनि रोल्पामा ५ सय २२ जनाको मात्र पिसिआरका लागि स्वाब संकलन गरिएको छ । सोमवारसम्म जिल्ला भरमा ३४ जनाको मात्र पिसिआर परीक्षण गरिएको तथ्याङ्क छ । यहाँ आरडिटी परीक्षण पनि निकै थोरै जनाको गरिएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार ८ सय ७९ जनाको मात्र आरडिटी परीक्षण गरिएको देखिन्छ । यसअघि सयौ रोल्पालीलाई १४ दिन क्वारेन्टिनमा राखेर तापक्रममा जाच्दै घर पठाइएको थियो ।  

आम नागरिक जस्तै रोल्पाका स्वास्थ्यकर्मीहरु पनि परीक्षणमा गरिएको ढिलाईले दिक्क बनेका छन् । सोमबार स्वाब परीक्षणका लागि नेपालगञ्ज पुर्‍याइएको नमुना संकलन फिर्ता लैजान भनेपछि रोल्पालीहरु थप चिन्तीत बनेका हुन् । ‘नेपालगञ्जको ल्याब हामि सबैको हो । हामिले कताको ल्यावमा थोरै स्वाब छ, खाली ठाउँ हेरेर पठाउने गरेका छौ । अब कहाँ पठाउने समस्या छ ।’ एक स्वास्थ्यकर्मीले भने ‘राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले प्रमाण पत्र दिन्छ तर नेपालगञ्जले एक्सल सिटमा बनाएर पठाउछ । जसलाई क्लीनिकली प्रमाणित गर्न गाह्रो हुन्छ ।’  

भेरी अञ्चल अस्पताल प्रमुखले सोमबार यहाँका चिकित्सकलाई फोन गरेर स्वाब फिर्ता लान भनेका थिए । उनले स्वाब फिर्ता लैजान भने पछि केहिबेर जिल्लामा नेपालगञ्जको ल्याबलाई फकाउन कसरत गर्नु परेको थियो । सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रका डा. प्रकृती भट्टराई भन्छिन् ‘उहाँहरुलाई लोड छ भनेर अन्यत्र लैजानु भन्नु भएको थियो । एकछिन तनाब नै भएको थियो । पछि लिनु भयो । अबको लटमा बुटवल पठाउने कि भन्ने सोचमा छौ । दाङमा पनि धेरै छ ।’    

महामारीका समयमा जिल्लाले पठाएका स्वाब लिन नमान्ने वा दुर्गमको परीक्षणमा पक्षपात पुर्ण ब्यबहार हुन थालेको देखिएको छ । नमुना संकलन गरेर पठाइएका स्वाब परीक्षणको रिपोर्ट आउन ढिलाई हुन थालेपछि क्वारेन्टिनमा बसेका र आरडिटी पोजेटिभ भएकाहरु आतंकित बन्न थालेका छन् । स्थानीय स्तरबाट परीक्षणका लागि सुबिधा सम्पन्न अस्पतालमा पठाइएका नमुना संकलन र परीक्षणमा केन्द्र र प्रदेश सरकारले चासो दिनु पर्ने देखिन्छ ।  

परीक्षणमा ढिलाई भए पछि यहाँका जनप्रतिनिधिलाई समेत अलमल सुरु भएको छ । स्वाब परीक्षण गर्न कहाँ पठाउने, कतिदिन रिपोर्ट कुर्ने अनि क्वारेन्टिनमा बसेकालाई के जवाफ दिने भन्नेमा उनिहरु स्वय अनुत्तरीत छन् । यति ठूलो बिपद संग एक्लै लडिरहेका स्थानीय तहहरु अब हतास बन्न थालेका छन् । 

प्रकाशित: २७ जेष्ठ २०७७ १०:०८ मंगलबार

कोरोना कहर अलमलमा रोल्पा